अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि नेपालमा अहिले नबढ्ने

प्रकाशित मिति:

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।इन्डियन आयल कर्पोरेशनले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिए । उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ ।करीब डेढ महीनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले खरिद मूल्यमा कमी आई यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।चालु आवको दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वका कारणले स्वचालित मूल्यप्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले रु दुई अर्ब ३७ करोड नोक्सानी व्यहोर्नु परेको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रहेको छ । रासस