३३ वर्ष पुग्यो तर बाटो बनेन

प्रकाशित मिति:

डोटीको विपीनगर हुंदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् । विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी रहेको बडिकेदार गाउँपालिकाका रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानै छँदा शिलान्यास गरिएको उक्त सडक हामी बूढो हुन थालिसक्यौँ अझै पूरा भएको छैन ।” चुनावको समयमा उक्त सडकलाई दिपायलसम्म लगेर जोड्छौँ भन्दै नेताले भोट मागे तर पनि चुनाव जितेपछि कसैले फर्केर नहेरेको स्थानीयवासीको आरोप छ ।हाल डोटीको बडिकेदार गाउँपालिकाको अतरकाँडासम्म मात्र सडक पुगेको छ ।