२५ पुसमा मारिएका पत्रकार ढकालको हत्यामा संलग्न चार जना पक्राउ

प्रकाशित मिति:

हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो । २५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा छन् ।त्यस्तै, हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भिक समयमा हत्या सामान्य जस्तो देखिए पनि गम्भीर अनुसन्धानपछि दुई आरोपित पक्राउ परेका हुन् । उनीहरुमाथि ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।