उपविजेतामा सिमित भयो नेपाली टोली

प्रकाशित मिति:

आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ। नेपाल पछिल्लो पटक सन् २००७ मा मलेसियामा भएको एसिसि महिला क्रिकेटको फाइनलमा पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सहभागितामै फाइनल पुगेको नेपाल त्यतिखेर बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।तेर्थई क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल १७।२ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएपछि थाइल्याण्डले उपाधि जितेको हो।