जिखेवि समिति गुल्मीको नयाँ भवन निर्माण हुँदै

प्रकाशित मिति:

 

रमेश विश्वकर्मा/गुल्मी जिल्ला खेलकुद विकास समिति गुल्मीले नयाँ भवन निर्माण कार्य सुरु गरेको छ । पुरानो भवन तथा कर्वड हल जीर्ण भएकोले त्यसलाई भत्काई सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।राष्ट्रिय खेलकुद परिषद्को ५० लाख आर्थीक सहयोगमा कवर्ड हल तथा भवन निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो वैशाखसम्म काम सम्पन्न हुने गरि निर्माण कार्य अघि बढिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले भवन निर्माण कार्य सम्पन्न गर्न रकम अभाव हुन सक्छ भन्दै जिल्लाका सवै स्थानीय तहहरुमा सहयोगको अपिल समेत गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका पूर्व अध्यक्ष वालसिंह काउछाको नेतृत्वमा निर्माण भईरहेको उक्त योजना समयमै सम्पन्न हुने खेलकुद विकास समितिको विश्वास रहेको बताईएको छ । जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि तथा समाज सेवीहरुको पहलमा उक्त योजनाको लागी राष्ट्रिय खेलकुद परिषद्ले रकम छुटाएको हो ।नयाँ भवन निर्माण हुँदा जिल्लाको खेलकुद विकास संगै आर्थीक विकासमा पनि राम्रो फाईदा हुनेछ । ५ वटा सटर भाडामा जाने र त्यसवाट प्राप्त रकम खेलकुद विकासमा लगाउने जिल्ला खेलकुद विकास समितिको उद्देश्य रहेको छ ।त्यस्तै खेलाडिहरुले पनि नियमीत अभ्यास गर्न पाउने छन् । यस अघी भवन तथा कर्वड हल जिर्ण हुदां खेलाडिहरु लाई अभ्यास गराउन समस्या परेको थियो । जीर्ण बनेको कर्वड हल तथा भवनले लामो समयपछि मुहार फेरिन लागे पछि खेलप्रेमी स्थानीयहरु हर्षीत बनेका छन् ।

यस अघि कवर्ड हल निर्माण भईसकेको छ । उक्त कवर्ड हलमा रङ रोबनको कार्य भईरहेकोे छ । भवन निर्माण नहुँदासम्म कार्यालयले प्रशासनिक काम गर्नको लागि जिल्ला समन्वय समितिसँग अनुरोध गरि एउटा कोठामा आफ्नो काम सञ्चालन गरेको बताईएको छ । समन्वय समितिले कोठा दिएर हामीलाई सहयोग गरेको भन्दै अध्यक्ष भण्डारीले धन्यवाद समेत दिनुभएको छ ।