भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने

प्रकाशित मिति:

काठमाडौँ – सदाको वर्ष झैँ यो वर्ष पनि भोलिबाट श्रीस्वस्थनी व्रत आरम्भ हुने भएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म रहने यो व्रत भोलि अर्थात् पौष शुक्ल पूर्णिमाबाट आरम्भ हुँदैछ । एक महिनासम्म माघ स्नान गरी श्रीस्वस्थानी माताको व्रत धारणका साथै कथा श्रवण पनि यसमा गरिन्छ । यसै अवसरमा साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मर्त्य लोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएको थियो । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।