७ करोडको कारोबार गर्दै सकियो रिडी मेला

प्रकाशित मिति:

गुल्मी । तीन जिल्लाको संगम क्षेत्र रिडीमा माघे संक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड बढीको कारोवार भएको आयोजकले जनाएको छ ।नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलाको दुई लाख ५० हजार बढीले अवलोकन, दर्शन गरेको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरुस्थित आधादर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा मेला सञ्चालनमा आयोजना गरिएको थियो ।माघ १ गतेबाट पाँच दिनसम्म कालिगण्डकी स्नान गर्ने र रुरुका विभिन्न मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको थियो ।मेलामा राखिएका तीन सय स्टलहरुबाट ७ करोड ५० लाख बराबरको कारोवार भएको रुरु फ्रेण्ड क्लवका अध्यक्ष बिश्वकर्माले बताए । तीन जिल्लाका बिभिन्न घरेलु तथा अन्य होटलहरु, फेन्सीहरु लगायतका स्टलहरु राखिएको थियो ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंमस्थल रिडीमा कालिगण्डकीमा स्नान गर्ने र हृषीकेश देबताको दर्शन गर्न दर्शनार्थीहरुदेखि व्यपार गर्नेहरुको दैनिक भीड लाग्ने गरेको थियो ।
माघे सक्रान्तिदेखि तीनदिनसम्म कालिगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु ९रिडी०मा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक मान्यता रहि आएको छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबै भन्दा ठूलो भगवानको मूर्ति पनि रहेको छ ।

रुरु क्षेत्रको कालिगण्डकीमा स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, बाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
ब्यपारका लागि रुकुमदेखिका व्यापारी रिडी आउने गरेका छन् । पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रीहरु, ओखरका घाँजीलगायतका वस्तुको राम्रो व्यपार हुने गर्दछ ।रुरु क्षेत्रमा परापूर्व कालदेखि नै माघ संक्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । अहिले दुई दिन थप गरेर पाँच दिन मेला लाग्ने गर्दछ ।बिगतका वर्षहरुमा भन्दा यस वर्ष थप कार्यक्रमका साथ अझ प्रभावकारी रुपमा मेला सम्पन्न गरिएको क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।

मेला ब्यस्थित बनाउने प्रयास

मेलामा दर्शनपछि टाढाबाट आउने दर्शनाथीको लागि रुरु क्षेत्र बिकास समितिले निः शुल्क खानपानको ब्याबस्था मिलाएको थियो । चाहना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन० दाल भात तरकारी खान ब्यावस्था थियो ।बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित दर्जनौ राष्ट्रिय कलाकरहरु मेला ल्याइएको थियो । ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठूलो एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पूजा आजा गर्ने प्रचलन छ ।