नारायणी र कोसीमा २०० यात्रु बोक्ने पानी जहाज सजिलै चलाउन सकिन्छ

प्रकाशित मिति:

नेपालका नदीमा पानी जहाज चलाउन सकिन्छ वा सकिँदैन ? यो प्रश्नको जवाफ खोज्न हालसम्म सरकारी तहबाट कुनै अध्ययन तथा अनुसन्धान भएको छैन । सरकार अहिले कोशी वा नारायणमध्ये एक नदीबाट भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पानी जहाज सञ्चालन गर्ने सपना बाँडिरहेको छ । यो सपना बाँड्न सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म लागेका छन् । के साँच्चै सरकारले भनेझैं कोशी र नारायणी नदी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज सञ्चालन गरी भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पुर्याउन सकिन्छ ?कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव छ । यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ,” फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक गरी युनाईटेड अरब इमिरेट्स (युएई) इराक, इरान, टर्कीका पानी जहाज कम्पनीमा काम गरेका नेपाली युवक निसान आचार्य भन्छन् । आचार्यलगायतको इन्जिनियरको टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणी नदीको अध्ययन गरेको थियो । उक्त अध्ययनमा नारायणीमा सानो आकारको पानी जहाज सजिलै सञ्चालन गर्न सकिने देखाएको हो । “देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्मको हामीले सर्वे गरेका थियौं । सर्वेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,” मरिन इन्जिनियर आचार्यले बताए ।


आचार्यका अनुसार नारायणीमा ३२ मिटर लम्बाई, १६ मिटर चौडाई, ८ मिटरको बिम, १.२५ मिटर ड्राफ्ट भएको यात्रुवाहक पानी जहाज चलाउन सकिनेछ । यस्तो पानी जहाजको लागि नदीको गहिराई ३० देखि ३५ मिटर भए पुग्छ, जुन नारायणी नदीको रहेको उनी बताउँछन् । “३० देखि ३५ मिटर गहिराई भएको नदीमा २ सय यात्रु बोक्ने पानी सहज रुपमा चलाउन सकिन्छ,” मरिन इन्जिनियर आचार्यको बुझाइ छ ।हाल नारायणगढमा रहेको पुल नबिगारी २ सय यात्रु बोक्ने पानी जहाज नारायणीमा चलाउन सकिनेछ । उनले थप स्पष्ट पार्दै भने, “पानीको सतहभन्दा माथि पानी जहाजको धेरै भाग हुनुपर्छ भन्ने छैन । आवश्यकता अनुसार पानी जहाज बनाइन्छ । उचाई कम भएको पानी जहाज हाम्रो लागि उपयुक्त हुन्छ, जसले हाल रहेका पुललाई समेत कुनै हानी गर्दैन ।” दुई सय यात्रु बोक्ने पानी जहाज चलाउन जहाजमा ५ जना क्रु (चालक दल) भए पुग्ने उनको अनुभव छ ।
“हाम्रो नारायणी र कोशी जस्तै नदी तथा नहर बनाएर रुस, चीन, इराक, स्वीट्जरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रमा पानी जहाज सञ्चालन भइरहेका छन् । हाम्रोमा पनि त्यहीअनुसार चलाउन सकिन्छ,” उनले भने ।

यात्रुवाहक भन्दा मालवाहक पानी जहाज हलुङ्गो हुने उनी बताउँछन् । यस कारण नारायणीमा २ हजारदेखि ३ हजार टनसम्मको मालवाहक पानी जहाज चलाउन सकिनेछ । नारायणीमा यात्रु तथा मालवाहक पानी जहाज चलाउन हालकै अवस्थामा भने सकिँदैन । किनभने नारायणी नदी कतै बढी गहिरो त कतै अलि कम गहिरो छ । त्यति मात्र होइन, कतै बढी फिँजारिएको छ भने कतै केही साँघुरो बनी बगेको छ ।पानी जहाज चलाउने हो भने सबैभन्दा पहिला नदीलाई मिलाउनु पर्छ । जसरी काठमाडौंको धोवी खोलालाई दुईतर्फ पर्खाल लगाएर नहर जस्तो बनाइएको छ । यही शैलीमा नारायणीलाई नहर जस्तो बनाउनु पर्छ, अनिमात्र त्यहाँ पानी जहाज चलाउन सकिनेछ,” मरिन इन्जिनियर आचार्य भन्छन् ।
नारायणीमा दोहोरो पानी जहाज चलाउन केही अप्ठ्यारो हुने उनको ठम्याइ छ । कम्तिमा पनि १६ मिटर चौडाई भएको पानी जहाज दोहोरो चलाउनको लागि ४० मिटर भन्दा बढी नदीको चौडाई हुनुपर्छ । “नदीको चौडाई सानो छ भन्दैमा पानी जहाज दोहोरो चलाउन नमिल्ने होइन । बीच–बीचमा स्टेशन बनाएर जहाजहरुलाई ओहोरदोहोर गराउन सकिन्छ,” उनले भने ।

मरिन इन्जिनियर आचार्यका अनुसार नारायणीमा चलाउन सकिने २ सय यात्रु क्षमताको पानी जहाज तीन तलेसम्मको हुनेछ । सबैभन्दा तल्लो तलामा इन्जिन हुनेछ । बीचको तलामा यात्रु बस्ने ठाउँ र सबैभन्दा माथिल्लो तलामा पानी जहाज चालक दलका सदस्यहरु रहनेछन् ।
कोशी नदीमा पनि नारायणीमा जस्तै यात्रु र मालवाहक दुवै पानी जहाज चलाउन सकिने उनी बताउँछन् । नारायणीभन्दा कोशी ठूलो भएकोले यहाँ अझ ठूलो पानी जहाज चलाउन सकिने छ । कोशी–गंगामा २ हजारदेखि ६ हजार टनसम्मका पानी जहाज चलाउन सकिने उनले जनाए । आचार्यका अनुसार कोशीदेखि गंगासम्म नदीको दूरी २ सय ७० किलोमिटर रहेको छ जबकी यो दुई स्थानबीचको सडक दूरी मात्र एक सय ७० किलोमिटर रहेको छ । सडक दूरी नदीको भन्दा कम भएपनि पानी जहाजमा मालसामान ल्याउँदा सस्तो पर्न आउने तर्क उनको छ । “एउटा ट्रकले ४० टन बोक्छ । सबैभन्दा कम क्षमताको पानी जहाज कोसीमा चलाउने हो भने पनि २ हजार टन बोक्न सक्छ । अर्थात् एउटा पानी जहाजले ५० वटा ट्रकले बोक्न सक्ने सामान एकै पटक ल्याउँछ । यसरी हेर्दा कोशीमा यात्रुवाहक भन्दा पनि मालवाहक पानी जहाज सञ्चालन गर्दा राम्रो हुने देखिन्छ,” इन्जिनियर आचार्यले प्रष्ट्याए । उनको घर हाल प्रदेश ५ को दांग जिल्लामा भएपनि अहिले काठमाण्डौमा बस्दै आएका छन् ।