ठूला भ्रष्टचार सवै राजनीति संरक्षणबाट हुन्छन् :कांग्रेस वरिष्ठ नेता पौडेल

प्रकाशित मिति:

स्यांजा / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति संरक्षण विना ठूला ठूला भ्रष्टचारका काण्ड संभव नहुने बताउनुभएको छ । स्याङजाको गल्याङमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले चर्चामा रहेका वाइडवडि प्रकरण, एनसेल प्रकरण तथा बुढीगण्डकीको ठेक्का प्रकरणमा राजनीति संरक्षणमा भ्रष्टचार भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘वाइडवडिदेखि के के काण्डको चर्चा छन् । यी सवै ठूला भ्रष्टचारमा राजनीति संरक्षण नभई संभव छैन् । मुलुकलाई सुमार्गमा लैजाने राजनीतिले मात्र विकास संभव छ । राजनीति नै भ्रष्ट भएपछि मुलुक कसरी अगाडि बढ्छ । त्यही भएर राजनीतिप्रति आम नागरिकमा वितृष्ण छ ।

यो लोकतन्त्रका लागि पनि खतरा हो ।’पौडेलले संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको महशुस भएको भन्दै भन्नुभयो–‘हामीले आफ्नो एजेण्डाकमा आन्दोलन गर्ने हो अरुको एजेण्डामा होइन । हाम्रा नेताहरुको नाम भएको अस्पताल मेटाउने रणनीतिमा बर्तमान सरकार छ । यो बेलामा कांग्रेसले प्रतिपक्षको हैसियत कायम गर्न सक्नुपर्छ ।’ उहाँले आम नागरिकले सरकार कहाँ छ भेटिएन भन्ने महशुस अवस्थामा प्रतिपक्ष ससक्त भएर अगाडि आउनु जरुरी रहेको स्पष्ट पार्नुभयो । कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टीका केन्द्रीय नेताहरुले केन्द्रमा मात्र हात मिलाएर नहुने भन्दै जिल्ला जिल्लामा पनि नेता कार्यकर्ताको मन मिलेर एक हुनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेताहरुले भन्दा कार्यकर्ताले गुटबन्दीको अन्त्य गर्न जरुरी छ ।

आम कार्यकर्ताले कुनै एक वा अर्को नेताको कार्यकर्ता नभएर पार्टीको कार्यकर्ता हुन जरुरी छ । आफु परिवर्तन भएर राष्ट्रलाई परिवर्तन गर्न जरुरी छ । नेताहरु स्वच्छ मानसिकता राखेर कार्यकर्ताको मुल्याङकन गर्नुपर्छ अनि कार्यकर्ताहरुले पनि नेताहरुका गल्ती औल्याउन सक्नुपर्छ । यसो भएमात्र पार्टी सदृढ हुन्छ ।’
उहाँले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेको बताउदै सिद्धान्तको नै टुंगो नभएको राजनीति शक्तीबाट मुलुकले आशा गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘ कम्युनिष्टहरुको सिद्धान्तको टुंगो अझै छैन सिद्धान्तै कै टुंगो नभएकाहरुबाट मुलुकले के आशा गर्न सक्छ । त्यही भएर कम्युनिष्टहरुले आम नेपालीलाई हिजो के सपना बाँडेका थिए । आज के काम गर्दैछन् । कम्युनिष्टले भन्ने गरेको सुशासन यस्तै हो । भ्रष्टचारलाई रोक्ने हो भने तलबाट होइन माथिबाट सुरु हुन जरुरी छ ।’ पौडेलले कांग्रेस नेता कार्यकर्तालाई जनताको स्वार्थसंग गाँसेर कर्मशिल कांग्रेस बनाउने अभियान थाल्न पनि निर्देशन दिनुभयो ।