कुकुरको महँगो शवयात्रा

प्रकाशित मिति:

बेलायत, अक्टनकी सासा स्माजिक, ३७ ले मृत कुकुरको सम्मानमा महँगो शवयात्रा गरेकी छन् । बग्गी सेता परेवा फोटो र झकिझकाउ सजावटसहितको शवयात्रामा ४ हजार २ सय ४९ स्टर्लिङ पाउन्ड खर्च गरिएको विदेशी सञ्चार माध्यमले लेखेका छन् । पशु चिकित्सकको सहयोगमा बग्गीमा राखी कुकुरलाई उसको प्रिय पार्कमा लगेर समाधिस्थ गरिएको हो । गत क्रिसमसमा हृदयाघातका कारण क्याप्टेन नामक कुकुर मरेपछि शोकसन्तप्त सासाले एक सातासम्म खानासमेत खाइनन् । उनले भनेकी छन् क्याप्टेनको बिदाइ विशेष नै बनाउनुपर्ने थियो । अरुका लागि ऊ एउटा कुकुर थियो होला तर मेरा लागि सन्तान थियो । ऊ मेरो सबथोक थियो । उसलाई म जीवनभर सम्झिनेछु । सासाले सात महिने क्याप्टेनलाई पशु उद्धार केन्द्रबाट घर लगेकी थिइन् । लजालु र बफादार क्याप्टेन सासाको परिवारमा सबैको प्यारो थियो । कुनै पनि जनावरलाई पाल्दा पशुजस्तो होइन पारिवारिक सदस्यझैँ माया गरेर हुर्काउनुपर्ने उनको धारणा  छ ।