स्वस्थानी ब्रत कथा एक लौकिक र नीति कथामा आधारित कथा

८ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
1K Shares


काठमाडौं । सोमबारदेखि हिन्दू धर्मालम्बीहरुले पवित्र श्री स्वस्थानी ब्रतको औपचारिक सुरुवात गरेका छन् । अन्य पूजा विधिसँगै प्रत्येक दिन एक अध्यायको रुपमा वाचन र श्रवण गरिने पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म चल्ने यो ब्रत कथा एक लौकिक र नीति कथामा आधारित कथा हो । यो अष्टादश पुराणहरुमध्ये सबैभन्दा ठूलो पुराण स्कन्द पुराणको केदार खण्डमा रहेको माघ महात्म्यको एक अंशको आधारमा तयार पारिएको हो । यो धर्मशास्त्र नभएपनि कुमार जीले अगस्त्य मुनिलाई सुनाएको कहानीको रुपमा हिन्दू धर्मालम्वीहरुले यसलाई विशेष महत्व दिएका छन् । कूल ३१ अध्यायमा रहेको स्वस्थानी व्रतकथाको पहिलो अध्याय पृथ्वीको सृष्टिमा आधारित संक्षिप्त विवरणहरुबाट तयार पारिएको छ । जसलाई सृष्टि वर्णन नामको अध्यायको रुपमा नामाकरण गरिएको छ । वेदान्तको एक अंशको रुपमा रहेको सृष्टिको वर्णनलाई संक्षिप्त रुपमा भगवान शिव पुत्र स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएका थिए । उनैले सुनाएको यो कहानीको प्रायः अधिकांश तथ्यहरु वेदान्त दर्शनसँग मिल्नेखालका छन् । यसमा रहेको सुष्टि वर्णनलाई वेदान्त दर्शनसँग तुलना गर्नुपूर्व स्कन्द कुमार को हुन् र अगस्त्य मुनी को हुन् रु भन्ने विषयबारे संक्षिप्त जानकारी राख्नु उपयुक्त हुनसक्छ । अगस्त्य मुनी एक वैदिक ॠषि थिए । उनी वशिष्ठ ऋषिका जेठा दाजु थिए भन्ने कुरा कुनै कुनै धर्म ग्रन्थहरुमा पाईन्छ । भनिन्छ अगस्त्य ऋषिले नै पहिलो पटक विद्युतको आविष्कार समेत गरेका थिए ।

उनले तयार पारेको अगस्त्य संहितामा भनिएको छ ुसंस्थाप्य मृण्मये पात्रे, ताम्रपत्रं सुसंस्कृतम्‌। छादयेच्छिखिग्रीवेन चार्दाभिस् काष्ठापांसुभिस्॥ दस्तालोष्टो निधात्वयस् पारदाच्छादितस्ततस्। संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्‌॥ु अर्थात् एक माटोको भाँडो लिनु, उसमा तामाको पट्टी राख्नु, त्यसमा शिखिग्रीवा अर्थात् कपर सल्फेट राख्नुस् । फेरिबीचमा भिजेको काठको धुलो राख्नु, त्यसको माथि पारो राख्नु, त्यसमाथि जिंक राखेर तार जोडिदिएपछि मित्रावरुणशक्ति अर्थात् विद्युत शक्ति उत्पन्न हुन्छ भनिएको छ । यी मुनिको जन्म इसाको ३ हजार वर्ष पहिले श्रावण शुक्ल पञ्चमीका दिन काशीमा भएको अनुमान गरिएको छ । जुन ठाउँ अहिले पनि अगस्त्य कुण्डको नामले प्रचलित छ । स्वस्थानीमा कुमारले नै सबै कहानी भनेका छन् । स्वस्थानीको हरेक अध्यायको अन्त्यमा कुमारअगस्त्यः संवादे भनेर चतुर्थी विभक्तिको प्रयोग गरिएको छ । जसरी स्वस्थानी ब्रत कथामा धेरै स्कन्द कुमारको नाम उल्लेख गरिएको छ त्यस्तै, स्कन्द पुराणमा समेत कुमारको नाम धेरै प्रयोग गरिएको छ । भगवान शिवका पुत्र कार्तिकेयको अर्को नाम कुमार हो । यिनै कुमारले ऋषि अगस्त्यलाई यो कथा सुनाएका हुन् । स्वस्थानीको पहिलो अध्यायमा संसार श्रृष्टिको वर्णन गरिएको छ । वेदान्तमा सबैभन्दा धेरै प्रयोग हुने शब्द परब्रह्म परमात्मा अर्थात् ब्रह्म भन्दा पनि माथिका परमात्मा जसमा संहारको समयमा सारा चराचर प्राणी र वेद समेत लीन हुन्छन् । तिनै परमात्माको महिमागानबाट नै सुरु गरेर ब्रह्मा विष्णु र महेश्वरलाई त्रिशक्तिको रुपमा वर्णन गरिएको छ । द्वेत, अद्वेत र सांख्यहरुले भिन्न भिन्न रुपमा व्याख्य गर्ने त्रिगुणात्मिका माया भन्ने शब्दले अद्वेत मतलाई यहाँ धेरै विश्लेषण गरेको स्पष्ट हुन्छ । त्यहि माया भन्दामाथि नै निबृत्ति पद रहेको उल्लेख गरिएको छ । तिनै परमात्माको इच्छाले सृष्टि स्थिती र संहार हुने कुरा पनि उल्लेख गरिएको छ । प्रकृति र मायाको विषयमा हिन्दू धर्ममा भिन्न भिन्न दर्शनहरुमा पनि विशेषगरी द्वेत, विशिष्ठाद्वेत र सांख्यमा भिन्न भिन्न मत आउने गरेको छ । यहाँ पनि श्रृष्टि र प्रलयको भिन्न नियमको बारेमा उल्लेख गरिएको छ ।

रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अह्रकार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन्त्र मात्रा, शब्द, रुप, रस, गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ । भनिएको छ । यो नै वेदान्तले भन्ने ब्रह्माण्ड हो । यसमा वेदान्तले अन्य प्रक्रियाको समेत वर्णन गरेको छ । तर, स्वस्थानीमा सुष्टिको संक्षिप्त वर्णन गरिएको देखिन्छ । यहाँ सृष्टि स्थिती र संहारलाई क्रमशः चतुर्मुख ब्रह्मा, विष्णु र शिवको शक्तिले परिचालन गर्ने उल्लेख गरिएकोले यो कथामा हिन्दू धर्ममा रहेको विभिन्न सम्प्रदायलाई एक गराउने प्रयास भेटिन्छ । यहाँ ब्रह्माको १०० वर्षको आयुको वर्णन गरिएको छ । यसको बारेमा यस अघि नै लेखकले हाम्राकुरामार्फत् नै विस्तृत विवरण पेश गरिसकेको छ । महत कल्प। हिरण्य गर्भ कल्प, ब्रह्मकल्प, पद्मकल्प र वराहकल्पगरि ५ कल्प मध्ये श्री स्वस्थानीमा केवल पद्म कल्पको मात्रै उल्लेख गरिएको छ । ब्रह्माको १०० वर्ष पुगेपछि पृथ्वीमा महाप्रलय हुन्छ । त्यहाँ सबै चराचर प्राणीहरु नष्ट हुन्छन् र फेरि नयाँ सृष्टि हुन्छ । त्यसैले यो पृथ्वीमा नित्य केवल ब्रह्म र वेद मात्रै छ भनिएको छ । यहाँ परमात्मालाई हिरण्यगर्भ, प्रजापति, परब्रह्म आदि नामले चिनिन्छ भनिएको छ । तर, वेदान्तले जुनसुकै नाम पनि अन्त्यमा परमात्मामा नै गएर पर्यावशान हुने उल्लेख गरेको छ । त्यसैले कतै प्रकृति, कतै पुरुष जस्ता नामले पनि पृथ्वीलाई चिनिन्छ । परमेश्वरलाई आदि र अन्त्य नभएको भन्ने उल्लेख श्री स्वस्थानीमा गरिएको छ । यो विभिन्न उपनिषद्हरुमा बालाग्र सतभागस्य, सतधा कल्पितस्य च भन्ने श्लोक मार्फत् पनि परमात्माको वर्णन गरिएको छ । यसरी सुख दुख मनले मात्रै अनुभव गर्दछ, परमात्माद्वारा नै पञ्च महाभूतको उत्पत्ति भएको जस्ता प्रथम अध्यायको सबै विषयहरु वेदान्त दर्शनमा उल्लेख भएका विषयहरु हुन् । यही विषय कुमार जीले अगस्त्य मुनिलाई सुनाएका हुन् । तर, यो पृथ्वी सृष्टिको विषयमा लेखिएको विषय हो । त्यसैले पनि समाजलाई पूर्वीय दर्शनको ज्ञान दिने विषयमा प्रथम अध्यायमा लेखिएका विषयहरु कपोलकल्पिन नभई ज्ञानप्रदायक र वेदान्त दर्शनको एउटा अंशको रुपमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया