प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न नेकपाका सांसदहरुद्धारा हस्ताक्षर संकलन गरिएको खुलासा

प्रकाशित मिति:

प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न र नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले नेकपाका सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएको खुलासा भएको छ । आठ जना प्रदेश सांसदहरुले हस्ताक्षर गरिसकेका छन् ।प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, तुल्सी प्रसाद चौधरी, थानकुमारी थापालगायतको समूहले हस्ताक्षर संकलन थालेको एक सांसदले जानकारी दिए । सांसद तुल्सीप्रसाद चौधरीले भने हस्ताक्षर अभियानबारे खुलेर कुरा गर्न चाहेनन् । उनले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी बुटवलबाहेक अन्त हुनै नसक्ने दाबीसमेत गरे ।बुटवललाई अस्थायी राजधानी बनाएको एक वर्ष बितिसक्दा पनि प्रदेश ५ को नाम र राजधानी टुंगो लाग्न सकेको छैन । नाम र राजधानीको विषयमा सुझाव दिन १५ सदस्यीय विशेष समितिसमेत गठन गरिएको छ ।दाङबाट प्रदेशसभा सांसदमा निर्वा्चित भएर मुख्यमन्त्री बनेका शंकर पोखरेलले सडकबाट नभइ संसदबाट प्रदेश राजधानी तोकिने बताउँदै आएका छन् ।

लामो समयसम्म स्थायी राजधानी नतोकिएको र नामाकरण पनि नगरिएको विषय धेरै पटक प्रदेशसभा बैठकमै उठ्दै आएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानी र नामाकरणको विषय जोडेर साउन १३ गतेको बैठक नै अवरुद्ध गरेको थियो भने माघ ३ गते बुटवलमा खबरदारी सभा समेत आयोजना गरेको थियो ।प्रदेश ५ को नाम र स्थायी राजधानी सिफारिसका लागि गत साउन २५ गते गठित विशेष समिति संयोजक दीपेन्द्रकुमार पुनमगरले कसैले हस्ताक्षर अभियान चलाए पनि त्यसको कुनै औचित्य नहुने बताए । आफूहरुले प्रश्नावली निर्माण र प्रशासनिक काम सकेको बताउँदै छिट्टै प्रतिवेदन बुझाउने बताए ।