निर्मला हत्याकाण्डमा बम दिदीबहिनीको संलग्नता छैन : प्रहरी बरिष्ठ उपरीक्षक सुवेदी

प्रकाशित मिति:

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे। यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ।प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होइन भन्नुहुन्छ। यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ। डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होइन। जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ। कतिपय कुराहरु सिक्नु पनि पर्ने हुन्छ। टेक्नोलोजीको कुराहरु, कतिपयले त्यो मेशिन नै ठिक हो कि होईन भन्ने कुरा उठाईदिन्छन्। हामीले पनि सम्बन्धित् विशेषज्ञहरुको राय लिएका छौं। यो समयसम्म भन्नुपर्दाखेरि त्यस्तो ईक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदीबहिनी निर्दोष रहेको पनि स्पष्ट पारे। उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन्। मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआईदिएको भए हुन्थ्योजस्तो लाग्छ। नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन।’