विद्यालयको पाठ्यक्रममै वीमा शिक्षा समावेश गर्ने तयारी

प्रकाशित मिति:

प्रकाश खनाल ,बुटवल/ वीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विद्यालयहरुको पाठ्यक्रममा छिट्टै वीमा शिक्षा समावेश गर्ने तयारी भैरहेको बताएका छन् ।मिडिया इन्टरनेशनलको आयोजना र वीमा समितिको सहकार्यमा मंगलबार बुटवलमा आयोजित वीमा पहुँच र वीमा जागरण सम्बन्धि अन्तरक्रियामा बोल्दै उनले पाठ्यक्रममै वीमाशिक्षा समावेश भएपछि आम नागरीकमा वीमाप्रति आकर्षण बढ्ने बताए ।त्यसकालागि समितिले तयारी सुरु गरिसकेको समेत उनले जानकारी दिए ।वीमाको दायरा कसरी फराकिलो बनाउने भन्ने जिम्मेवारी र दायित्व वीमा समितिका साथै वीमा कम्पनिको काधमा आएको भन्दै उनले वीमा गर्नुका फाइदाबारे आम नागरिकलाई सुसुचित गराउन आवस्यक रहेको बताए ।

जिवन वीमा गराउने कार्यमा अभिकर्ताहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै कार्यकारी निर्देशक पौडेलले अभिकर्ताहरुलाई तालिम दिनुपर्नेमा जोड दिए ।वीमा कम्पनिहरुले आफ्ना अभिकर्ताहरुलाई गुणस्तरीय तालिम दिए नदिएको बारे वीमा समितिले अनुगमन गर्ने उनले बताए ।मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विकास बैंक भैरहवाका प्रमुख मिनराज पोखरेल,बुटवल शाखा प्रवन्धक गंगाप्रसाद बगाले, अस्ट्रीज नेपालका सञ्चालक सिपी शर्मा,ज्योति लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख चरण तिमल्सेना लगायतले बोल्दै वीमाप्रति आम नागरीकमा सचेतना जगाउन जरुरी रहेको बताए ।स्वच्छ प्रतिस्पर्धा र वीमा दावी भुक्तानीलाई सहज बनाउनु पर्नेमा समेत सहभागिहरुले जोड दिएका थिए ।यही माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ÷वीमा एक्स्पोको सन्दर्भमा वीमा पहुँच र वीमा जागरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एक्स्पोका संयोजक समेत रहेका मिडिया इन्टरनेशनलका अध्यक्ष निर्देशले बताए ।