प्रहरी इनकाउन्टरमा एकजना मारिए

प्रकाशित मिति:

सप्तरी – प्रहरी ‘इन्काउन्टर’मा सप्तरीमा बुधबार बिहान एकजनाको ज्यान गएको छ ।प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा दीपेन्द्र जयसवाल भनिने दीपेन्द्र चौधरी मारिएका हुन् ।प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा चौधरीको ज्यान गएको पुष्टि गर्नुभयो । उहाँका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । यही क्रममा उनको घटनास्थलमै ज्यान गएको पालले जानकारी दिनुभयो । चौधरीमाथि २ गोली लागेको छ ।

गएको एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते हुनुभएको थियो । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरीमाथि गोली प्रहार भएको थियो ।दीपेन्द्र २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न रहेको बताइएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर घटना गराएको प्रहरीको दाबी छ ।यस्तै उनी अन्य विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता चौधरी अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आइरहेको बताइएको छ