ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने छ : मन्त्रि पुन

९ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी र दूधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताएका छन् । बुधबारदेखि पोखरामा हुने नेपाल र भारतका ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवस्तरीय बैठकमा सहभागी हुन आइपुग्नु भएका भारतीय ऊर्जा मन्त्रालयका अधिकारीलाई मन्त्री पुनले सो कुरा बताएका हुन् ।मन्त्री पुनले भने, “हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदैछौँ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

सो अवसरमा मन्त्री पुनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। उनले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको बताए । उनले तल्लोतटीय लाभका बारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया