एन प्याब्सनको खेल सप्ताह हुँदै, १२ सयबढी विद्यार्थीले प्रतिस्प्रर्धा गर्ने

प्रकाशित मिति:

बुटवल/बुटवलमा बिहीबारदेखि आठाँ नेश्नल प्याब्सन खेलकुद सप्ताह हुने भएको छ । संस्थागत विद्यालयहरुमा रहेका विद्यार्थीहरुलाई शैक्षिकसँगै अतिरिक्त कृयाकलाप अब्बल र चनाखो बनाउन एन प्याब्सनले बार्षिक कार्यक्रम अन्तरगत खेल सप्ताह गर्न लागेको हो । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन एन व्याब्सन रुपन्देहीको आयोजनामा हुन लागेको खेल सप्ताहमा एन प्याब्सनमा आबद्ध २५ विद्यालयहरुको सहभागीता रहने छ । खेल सप्ताहमा ती विद्यालयका एक हजार दुई सय बढी विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्प्रर्धा गर्ने छन् ।माघ १२ गतेसम्म सञ्चालन हुने सप्ताहमा जुनियर, सवजुनियर र सिनियर गरी ३ वर्गमा विद्यार्थीहरुलाई खेल खेलाइने छ ।

बुटवल १० को कालिका मानवज्ञान माविको खेल मैदानमा हुने खेल सप्ताह अन्तर्गत एक सय÷ दुई सय मिटर दौड, रिले दौड, कुर्चि दौड, टेवल टेनिस, लंगजम्प, हाईजम्प, सटपुट, ब्याटमिन्टन, भलिवल लगायतका विभिन्न खेलहरु हुने एन प्याब्सनका सहसचिव तथा खेल संयोजक बाबुराम बन्जाडेले जानकारी दिनुभयो । इन्डोर खेलहरु भने अन्य स्थानमा हुने आयोजकले बताएका छन् । बुधबार बुटवलमा भएको एक कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेलले खेल सप्ताह सुरु भएको उद्घोष गर्दै विद्यार्थीलाई बौद्धिकसँगै शारिरिक क्षमता विकासको आवश्यकता पर्ने भएकाले विद्यार्थीको चौतर्फि विकासका लागि खेलको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष देउप्रकास राईले आत्मियता र मेलमिलापको भावना विकास गर्न खेलकुद उपयुक्त माध्यम भएकाले एन प्याब्सनले समयसमयमा विभिन्न खाले कार्यक्रमहरुलाई गर्दै आएको जानकारी दिनुभयो । एन प्याब्सनले इन्डोर र आउट डोर का गरि विभिन्न खेलकुद प्रतियोगिताहरुलाई यो साता निरन्तर रुपमा गर्दै आएको सचिव जेवी क्षेत्रीले जानकारी दिनुभयो । खेल सप्ताहमा अंकका आधारका विद्यालय विजेता हुने र विजेता विद्यालयले शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।