पुरातात्विक तिलौराकोट दरबार आसपासमा घुम्न आउने पर्यटकको संख्यामा कमी

प्रकाशित मिति:

कपिलबस्तु /पुरातात्विक तिलौराकोट दरबार आसपासमा घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना तथा पूर्वाधार अभावमा पर्यटकको संख्या घट्दै गएको हो । सन् २०१८ मा तिलौराकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तीन हजारले घटेको छ । जस अनुसार सन् २०१७ मा ४१ हजार ७ सय २५ पर्यटक आएकोमा २०१८ मा भने ३ हजारले कमि हुन गइ ३८ हजार ७ सय २५ आएको तथ्याँक रहेको कोषका कर्मचारी माधव आचार्य बताउनुहुन्छ । भारतका विभिन्न ठाउँ हुदै स्थलमार्ग भएर लुम्विनी पुग्ने पर्यटक पनि अचेल यहाँ आउन छाडेका छन् ।

तिलौराकोट लगायत कपिलवस्तुको समग्र पर्यटन विकासका लागि गुरु योजना ल्याएर अघि बढ्नुपर्ने होटल व्यवसायी उज्वल शर्माको माग छ । राजा शुद्धोदनको राजप्रसाद तथा गौत्तम बुद्धले २९ वर्ष विताएको तिलौराकोटलाई सन् १९९६ मा विश्व सम्पदा सूचीको प्रारम्भिक लिष्टमा राखिएको थियो । तर धार्मिक तथा पुरातात्विक महत्व बोकेको यस ठाउँको आगामी दिनमा थप प्रचारप्रसारका साथै पर्यटकीय पूर्वाधार विस्तार गर्न नसके तिलौराकोटको पर्यटन व्यवसाय झनै ओरालो लाग्ने स्थानीयबासिन्दा बताउँछन् ।