आम चुनावको मुखमा भारतीय कांग्रेसमा अध्यक्ष राहुलकी बहिनी प्रियंकालाई महासचिवको जिम्मेवारी

प्रकाशित मिति:

बुटवल- राहुल गान्धीकी बहिनी सक्रिय राजनीतिमा आएकी छन् । केही महिनापछि हुने आम चुनावअघि भारतीय कांग्रेसले राहुलकी बहिनी प्रियंकालाई पार्टीको प्रमुख जिम्मेवारी दिएको हो । कांग्रेसले प्रियंकालाई पार्टी महासचिवको जिम्मेवारी दिएको छ । उनले पूर्वी उत्तर प्रदेशको पार्टी कमान सम्हाल्ने जिम्मेवारी पाएकी छन् । प्रियंका गान्धीले महासचिवको जिम्मेवारी आउँदो फेब्रुअरीदेखि सम्हाल्ने छिन् । कांग्रेसले पार्टीमा केही महत्वपूर्ण परिवर्तन गरेको छ । ज्योतिरादित्य सिंधिया पनि महासचिव बनेका छन् र उनले पश्चिमी उत्तर प्रदेशको जिम्मेवारी पाएका छन् । गुलाम नबी आजादलाई उत्तर प्रदेशबाट हटाएर हरियाणाको जिम्मेवारी दिइएको छ ।

यस्तै तत्काल लागु हुने गरी कांग्रेसले केसी वेणुगोपाललाई पार्टिको संगठन महासचिव बनाएको छ । वेणुगोपालले अशोक गहलोतको ठाउँ लिएका छन् ।प्रियंका गान्धी सक्रिय राजनीतिमा आएकोप्रति भारतीय जनता पार्टी (भाजपा) का संबित पात्राले कटु आलोचना गरेका छन् । उनले कांग्रेसमा परिवार नै पार्टी रहेको र भाजपा पार्टी नै परिवार रहेको दाबी गरेका छन् ।

राहुल र प्रियंकाकी आमा सोनिया गान्धी पार्टीको पूर्वअध्यक्ष तथा अहिलेकी संरक्षक हुन् । सोनियाले छोडेपछि राहुल गएको वर्ष कांग्रेसको अध्यक्ष बनेका थिए ।