पहिलो सांस्कृतिक पाठशालाको विजोग

प्रकाशित मिति:

भोजपुर – भोजपुरको उत्तरी क्षेत्रमा रहेको दिङलास्थित ‘नेपालकै पहिलो संस्कृत पाठशाला’ अस्तव्यस्त बनेको छ । भवन जीर्ण बनेका छन् । संरचनाहरू कुनै खण्डहरजस्तो लाग्ने भएका छन् । आवाल ब्रहमचारी षडानन्द अधिकारीले दरबार हाइस्कुलपछि दोस्रो र ‘जनताका छोराछोरी पढ्न पाउने पहिलो’ पाठशाला १९३२ सालमा स्थापना गरेका थिए । उबेला नेपालका पश्चिमी जिल्लाहरू गुल्मी, सल्यान, प्युठानलगायत क्षेत्रका साथै भारतका सिकिम, आसाम, भुटानजस्ता स्थानबाट गुरुकुल शिक्षा लिन आउने गरेको स्थानीय अग्रजहरू बताउँछन् ।

संरक्षण नगरिँदा पाठशाला भत्कने अवस्थामा पुगेको छ । संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा स्थापना गरेको १८ सय रोपनी जग्गा र खेतीयोग्य जमिन अतिक्रमण हुँदै गएको छ । पाठशाला समरक्षणका लागि गुठी गठन गरिए पनि गुठीले संरक्षण गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
पाठशाला मुठिदानबाट सञ्चालन भइरहेको छ । पहिले गुठीबाटै बटुकहरूलाई खान बस्न तथा छात्रवृत्तिको समेत व्यवस्था गरिँदै आएको थियो । अब फेरि त्यही प्रक्रियाअनुसार गुठीमार्फत काम गर्ने प्रयास भइरहेको षडान्नद सीताराम गुठीका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । अहिलेको समितिले १० हजार घाटामा गुठीको जिम्मा लिएको छ,’ उनले भने, ‘समितिले पहिला गुठीका जग्गा नापजाँच गरेर अतिक्रमण भएका जग्गाहरू व्यवस्थित गर्ने र आयस्रोत बढाएर व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रयास गरिरहेका छाैं।’
पाठशाला परिसरमा रहेको शिव लिङ,रामचन्द्र, नर्वदेश्वर शिवालय र पशुपति मन्दिर जीर्ण अवस्थामा छन् । षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए । ऐतिहासिक महत्त्व बोकेका ती कुण्ड तथा मन्दिरले संरक्षण पाएका छैनन् ।
सीता कुण्ड, हनुमान पोखरी त कहाँ छन् भनेर ठम्याउन सकिदैन, सीता कुण्ड मासेर त्यसमा सडक विस्तार भएका छन् । पुरातात्त्विक महत्त्वको वस्तु तथा मठमन्दिर संरक्षण नगरिँदा मासिने चिन्ता बढेको रामचन्द्र मन्दिरका पुजारी तोयानाथ गौतमले सुनाए । सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीका कार्यकर्ताले पाठशालाका सबै कागजपत्र जलाउनुका साथै पाठशाला बन्द गराएका थिए ।
त्यसपछि षडानन्द गुरुकुल वेद विद्याश्रम पाठशालाको विसं. २०७२ सालमा पुन:स्थापना भएको हो । पुन:स्थापना भएको तीन वर्ष भए पनि षडानन्द सीताराम गुठी र षडानन्द नगरपालिकाबाट कुनै सहयोग नभएको पुजारी गौतमले बताए ।
षडानन्द नगरपालिकाले भने पाठशालाका लागि काम गर्ने बताएको छ । नगरपालिका, पुरातत्त्व विभाग र षडानन्द सीताराम गुठीबीच छलफल भइरहेको षडानन्द नगरपालिकाका मेयर विरवल राईले बताए । उनले भने, ‘षडानन्द नगरपालिकाले गुठीलाई व्यवस्थित बनाएर लैजानेछ ।’
अहिले पाठशालामा २७ जना बटुकहरू रहेका छन् । पाठशालामा रुद्रि, चन्डी, श्रीमदभागवत तथा वेदबारे गुरुकुल शिक्षा पद्धतिअनुसार शिक्षा प्रदान गरिन्छ । गुठीको १८ सय रोपनीमध्ये करिब ७ सयभन्दा बढी रोपनी जग्गाको अवस्था अन्योलमा रहे पनि सम्बन्धित निकायको चासो जान सकेको छैन । दिङ्ला बजार तथा आसपासका क्षेत्रका अधिकांश गुठीका जग्गा छन् ।