नेपालमा पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ गरिँदै

प्रकाशित मिति:

काठमाडौं– विश्वमै ७०५ वर्षपछि र नेपालमा पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञको आयोजना गरिने भएकाे छ। हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, सम्मृद्ध नेपाल र संस्कारी नेपाल निर्माणको आधार तयार गर्ने उद्देश्यका साथ आगामी माघ २७ देखि फागुन ७ गतेसम्म महायज्ञ गर्न लागिएको महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार १६ करोडको हवन अर्चन गरिने सो ‘श्रीराम तारकब्रह्म महायज्ञ’को लागि गत महाशिवरात्रीदेखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरूले १ अर्ब ६० करोडको सङ्ख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन्। महायोगी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज प्रधान सङ्कल्पकर्ता रहेको सो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ, वराहक्षेत्र, चतराधाममा पूर्णाहुतीका साथ सम्पन्न हुनेछ।

महायज्ञका हाल नौ तल्ले यज्ञमण्डप र त्यसभित्र विभिन्न प्रकारका कूल १०८ हवन कुण्डको निर्माण भइरहेको छ। महायज्ञमा सहभागी हुने अनुष्ठानीहरूदेखि साधु सन्त, महात्मा, जगद्गुरुहरू लगायत करिव २५०० अतिथिहरूको उचित आवास व्यवस्थाको लागि ८ करोड खर्च गरिएको छ । जसअनुसार सुविधायुक्त कुल १२६ कोठाको आवास गृह निर्माण गरिसकिएको छ ।
आगामी माघ २५ गते बृहत्‌ शोभायात्राबाट मङ्गलाचरण हुने महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्‌घाटन माघ २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा हरित क्रान्ति अभियानको समेत शङ्खनाद गरिने छ।

महायज्ञबारे सम्पूर्ण जानकारी तल पढ्नुहोस्

!!श्रीजानकीवल्लभो विजयते!!
जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ, चतरा

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, भक्तपुरको
प्रेस विज्ञप्ति

प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट वृद्धि हुँदै गइरहेको बाढी, पहिरो र भूस्खलन जस्ता विनाशकारी प्राकृतिक र मानव सृजित प्रकोपको परिणाम स्वरूप विस्तार भइरहेको मरुभूमीकरण एवम् तीव्र अौद्योगिकीकरणका कारण अनियमित मात्रामा उत्सर्जित कार्वनडाइअक्साइड जस्ता हरितगृह ग्याँसले वायुमण्डलमा बढ्न गएको तापक्रम र सोको विषाक्तताबाट पर्न गएको विपरीत प्रभावले जीव र जगत्‌को सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन गएको छ, जसका कारण हरित क्रान्ति अभियानमा पुनर्विचार र संयोजन गर्न पर्ने भएको छ।
रासायनिक मल एवम् विषादिको प्रयोगले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि ल्याएको भए तापनि यस सँगसँगै हुन गएको वन विनाश र जीवाष्म ऊर्जा, रासायनिक मलखाद तथा विषादिबाट उत्पन्न ग्यासले पृथ्वीको सुरक्षा कवच नै खण्डित हुन पुगेको छ। यी दुष्प्रभावहरू हाम्रा सेता हिमशृङ्खलाका पहाड र त्यहाँबाट प्रवाहित हिमनदीहरूमा दृष्टिगोचर हुन थालिसकेका छन्। यसको निराकरण वा न्यूनीकरणका प्रयासहरू सजगतापूर्वक समयमै सुरु गरिएन भने आज देखिएका हाम्रा सेता हिमालय शृङ्खलाहरू “काला डाँडा”मा र निर्मल हिमनदीका बाटाहरू “सुख्खा मार्ग”मा परिणत हुनेछन्। यसै अवस्थाको पूर्व सचेतना स्वरूप हामी अब हरित क्रान्तिको अभियानबाट प्रकृतिसँगको तादात्म्यतामै फर्किहाल्नु पर्ने बेला आइसकेको छ।
अर्को तर्फ राष्ट्रीयताको सबलताको लागि आफ्नो धर्म, दर्शन, संस्कार र संस्कृतिप्रतिको सम्झौताहीन समर्पणतर्फ पनि पूर्ण सचेत रहनुपर्ने भएको छ। यसका साथै आम मानिसलाई ज्ञान र विज्ञानको आपसी सम्बन्धको स्पष्ट ज्ञान गराउन पनि त्यत्ति नै खाँचो देखिएको छ। अध्यात्म भन्ने बित्तिकै विभिन्न मन्दिर दर्शन, तीर्थाटन, उत्सव, व्रत आदि बुझ्ने र भौतिकता भन्ने वित्तिकै विलासिताको चाहना पूर्तिलाई बुझ्ने अतिवादी सोचमा रहेको सङ्कीर्णतालाई हटाई ज्ञान र विज्ञान पारस्परिक अस्तित्वका लागि आधार-आधेय हुन् भन्ने वास्तविकतासँग पनि परिचित गराउन जरूरी भएको छ। आध्यात्मको सूक्ष्मताले भौतिकताको जन्म हुने वास्तविकतासँग परिचित हुने बित्तिकै अध्यात्म दर्शन अर्थात् ज्ञानभित्रको सूक्ष्मवादलाई जानिन्छ। यही सूक्ष्मवाद नै भौतिक विज्ञानभित्रको रहस्य हो । यज्ञ यसै रहस्यभित्रको पनि रहस्य हो। किनकि यज्ञचक्रका अनुसार प्राणीहरूको उत्पत्ति अन्नबाट, अन्न वृष्टिबाट र वृष्टि चाहिँ यज्ञबाट हुन्छ। अतिवृष्टि र अनावृष्टिको प्रकोप शमन गर्दै उपयुक्त वृष्टि गराउनेदेखि अोजोन तहको घनत्व निर्माण र वृद्धिसम्ममा यज्ञकै भूमिका प्रधान रहेको हुन्छ।
यिनै पृष्ठभूमिमा ७०५ वर्षपछि र नेपालमा भने पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञको आयोजना गरिएको छ। जसअन्तर्गत हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, सम्मृद्ध नेपाल र संस्कारी नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने यस “श्रीराम तारकब्रह्म महायज्ञ”को लागि गत महाशिवरात्रीदेखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरूले कूल १ अर्ब ६० करोडको सङ्ख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन्।

महायोगी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज प्रधान सङ्कल्पकर्ता रहनुभएको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ, वराहक्षेत्र, चतराधाममा आगामी २०७५ माघ २७, वसन्त पञ्चमीदेखि सुरू भई २०७५ फाल्गुण ७ गतेका दिन पूर्णाहुतीका साथ सम्पन्न हुनेछ।
महायज्ञका लागि अभिन्न अङ्गका रूपमा रहेको भूमिपूजन कार्य २०७५ मार्ग २६ गते नेपाल सरकारका सामान्य प्रशासन मन्त्री माननीय श्री लालबाबु पण्डितज्यूको समुपस्थितिमा सम्पन्न भई उक्त भूमिमा हाल नौ तल्ले यज्ञमण्डप र त्यसभित्र विभिन्न प्रकारका कूल १०८ हवन कुण्डको निर्माण भइरहेको छ।
महायज्ञमा सहभागी हुने अनुष्ठानीहरूदेखि साधु सन्त, महात्मा, जगद्गुरुहरू लगायत करिव २५०० अतिथिहरूको उचित आवास व्यवस्थाको लागि प्रदेश १ का मुख्य मन्त्री माननीय श्री शेरधन राई एवम् उहाँको मन्त्रीमण्डलका अन्य सदस्यहरू समेतको समुपस्थिति एवम् सहभागितामा महायोगी सिद्धबाबाबाट दीक्षित साधक-साधिकाहरू मात्रको करिव रू० ८ करोडको आर्थिक सहयोगबाट सुविधायुक्त कुल १२६ कोठाको आवास गृह निर्माणका लागि गत २०७५ भाद्र १५ गतेमा शिलान्यास भएको अतिथिगृहको निर्माण पनि सम्पन्न भइसकेको छ।
आगामी माघ २५ गते बृहत्‌ शोभायात्राबाट मङ्गलाचरण हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्‌घाटन २०७५ माघ २६ गतेका दिन अपराह्न १:१५ बजे जगद्‌गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम, सुनसरी चतरामा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुने छ। सोही अवसरमा हरित क्रान्ति अभियानको समेत शङ्खनाद गरिने छ।
यस महायज्ञमा देशविदेशवाट आउनुहुने सन्तमहात्मा एवम् जगद्‌गुरुहरूको दिव्य समागम र अन्य क्षेत्रका महनीय व्यक्तित्वहरूको उपस्थिति रहने छ। नेपाल र नेपालीका साथै चराचर जगत्‌लाई नै आत्मिक-भौतिक लाभ प्रदान गर्ने यस्तो ऐतिहासिक एवम् अति दुर्लभ महायज्ञमा सहभागी हुन वा यज्ञको दर्शन मात्र गर्न भए पनि सबैलाई आह्वान तथा आमन्त्रण गर्दछौं।
!! जय सीताराम !!

(गोविन्दबाबु तिवारी)
वरिष्ठ उपाध्यक्ष
जगद्‌गुरु श्रीरामानन्दाचार्य सेवा पीठ एवम्
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान