देशैभर माघेझरीको प्रभाव मौसम अझै दुई दिन नखुल्ने

प्रकाशित मिति:

मंगलबार देशका धेरै ठाउँमा पानी परेको छ ।माघेझरीको प्रभाव हिमालदेखि तराईसम्मै देखिएको छ । पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको हो । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँसमेत परेको छ । काठमाण्डौ उपत्यका सहित देशका मध्य तथा पश्चिममी भेगमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमपातका कारण कतिपय ठाउँको जनजीवन कष्टकर बनेको छ । ‘घरबाहिर निस्कन समेत गाह्रो छ, हिजोदेखि नै बाक्लै हिमपात भएकाले निकै चिसो भएको छ′ बैतडीको दोगडाकेदार गाउँपालिका ७ का भुवन कार्कीले बताउनुभयो ।सुदूपश्चिमका बैतडी, बझाङ, बाजुरा, डोटी, डडेल्धुरा र दार्चुलाका उच्च भेगमा सोमबार देखि नै हिमपात भएको हो । पश्चिमी वायु पश्चिम क्षेत्रबाटै भित्रिएकाले सुदूरपश्चिममा हिजोदेखि नै बढी प्रभाव परेको मौसमविदले बताएका छन् ।

पश्चिम भेगका कम उचाई भएका ठाउँमा पनि यसपटक बाक्लो हिमपात भएको छ । हिउँ परेपछि डाँडाकाँडा र गाउँ नै सेताम्मे बनेका छन् । १२ वर्षपछि बाजुराका बेसीसम्म नै हिमपात भएको छ । १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको स्थानीयबासिन्दाले बताए ।यस्तै कर्णाली प्रदेशका डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेखमा पनि वर्षासँगै हिमपात भएको छ ।हिमपात भएका जिल्लामा घर बाहिर निस्कन मुश्किल भएको छ । पानी र चिसोले जनजीवन कष्टकर बनेको हो । घरभित्रै आगो बालेर बस्नुपर्ने अवस्था छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सडकमै हिउँ जमेपछि जोमसोम मुक्तिनाथ, जोमसोम लोमान्थाङ सडकमा गाडी चलेका छैनन् ।

त्यस्तै काठमाण्डौ उपत्यका सहित आसपासका क्षेत्रमा पनि गएरातीदेखि नै पानी परिरहेको छ । चन्द्रागिरी, फूलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँसमेत परेको छ । हिमपात भएका क्षेत्रमा हिउँ खेल्ने जानेहरुको घुईंचो छ ।पश्चिमी वायुको प्रभावले पूर्वका केही ठाउँमा समेत पानी परेको छ । पश्चिमको तुलनामा पूर्वमा भने पश्चिमी वायुको प्रभाव कम परेको हो । तर सोलुखुम्बु, ओखलढुङगा, संखुवासभा लगाएतका जिल्लाका उच्च भूभागमा हिमपात भएको छ ।