डा. केसीको जीवन रक्षाको माग गर्दै बुटवलमा सडक कविता

प्रकाशित मिति:

साउन ७, बुटवल । प्रिय गोविन्द तिमी र उनीहरुमा फरक छ
जति घृणा र प्यारमा हु्न्छ
सेवा र व्यापारमा हुन्छ
उनले चाहेका छन् आम मानवको स्वास्थ्य अधिकार
उनीहरुले चाहेका छन् अस्पतालमा बगरको व्यापार….।
ट्राफिक चोकमा कवि गिरि श्रीस मगरले डा केसीको आन्दोलनलाई कविता मार्फत ऐक्यबद्धता व्यक्त गरिरहँदा सयौं मानिसहरु ध्यानपुर्वक सुनिरहेका थिए । यो दृश्य बुटवलको हो । आज बुटवलमा
डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै र समाजवादी उन्मुख स्वास्थ्य शिक्षा नीति निर्माणको लागि बुटवलमा सडक कविता सम्पन्न भएको छ । पाठक मञ्च, बुटवल साहित्यक संगम, साहित्य संगम बुटवल लगायत संस्थाको संयुक्त आयोजनामा सम्पन्न सडक कवितामा कविता तथा मन्तव्य मार्फत साहित्यकारहरुले सरकारलाई माथेमा कार्यदलको प्रतिवेदन लागु गर्नुपर्ने र गोविन्द केसीको माग पुरा गर्नुपर्ने आवाज उठाएका छन् ।
कार्यक्रममा बोल्दै ८५ वर्षीय अग्रज कवि अजम्बरध्वज खातीले सरकारको दुई तिहाइको बहुमतको दम्भ निकै डरलाग्दो भएको र हानिकारक हुँदै गएको बताए । उनले कविता मार्फत् नेपाली जनता आगोले पोल्दा पनि सुंगुर जस्तै हाँस्नु नहुने बताए । त्यस्तै ८२ वर्षीय साहित्यकार तथा अथक अध्येता जंगबहादुर शाहले गोविन्द केसीले आफ्नो निम्ति एसी, हवाइजहाज कुनै सुख सुविधा नमागी आम जनताको स्वास्थ्यप्रति चिन्तित भएकाले सरकार उनको स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्ने र उनको माग पुरा गर्नुपर्ने माग गरे । त्यस्तै साहित्यकार दिल साहनीले कवितामार्फत् रामराज्य खोजेको रावण राज्य बनेको भन्दै व्यंग्य गरे ।
कार्यक्रममा गोविन्द केसीको माग र माथेमा आयोगको प्रतिवेदनको विस्तृत चर्चा गर्दै पत्रकार तथा कानुन अध्येता तुफान न्यौपानेले केसीको माग आम जनताको माग भएको पुष्टि गरे । उनले केसीमाथि कसैद्वारा प्रायोजितको आरोप लगाउनु झुट भएको बताउँदै संसदमा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकले केही लगानीकर्तालाई सुरक्षित गर्ने प्रष्ट पारे ।
पुष्पलाल पार्कबाट शुरु भएको मौन ¥याली ट्राफिकचोकमा सडक कविता कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा दिपक विश्वकर्मा, नारद गौतम, ऋषि आजाद, ज्ञानु केसी, ए.पि. सुमन, शब्द शंकर, गुरुप्रसाद बुलबुल, दामोदर पाण्डे, जयन्ती सरगम लगायतले कविता वाचन गरे । कार्यक्रम रामचन्द्र श्रेष्ठको सञ्चालन तथा पाठक मञ्चका गिरि श्रीसको संयोजकत्वमा सम्पन्न भएको थियो ।