अष्ट्रेलियामा टोलैपिच्छे नेपाली संस्था : मियोबिनाको दाईं जुँगाको लडाईं

प्रकाशित मिति:

अष्ट्रेलिया – उखरमाउलो गर्मी महिना २०१९ जनवरीको एक साँझ सिड्नीको दक्षिण पश्चिमी बस्ती लिपिङ्टनको क्लबमा नेपालीको जमघट थियो । कुनाको टेबलमा १५ नेपाली आफ्नो क्षेत्रमा खोल्न लागिएको संस्थाबारे गफ गर्दै थिए । ‘आउने जति आउँछन् नआउने जति छुट्छन्’ एक मित्र कड्किए ! अर्का सम्झाउँदै थिए ‘कुरा मिलेन भन्दैमा मन नपरेको मान्छेलाई छोड्न कहाँ पाइन्छ !’

अर्को साँझ त्यसै विषयमा क्रस रोडमा बैठक थियो । बैठकमा १५ वर्षदेखि अष्ट्रेलिया बसेका अर्का मित्र कुर्लिए, ‘उनीहरु मात्रै बसेर गरेको बैठकको कुरा हामी कसरी मान्छौँ ? हाम्रो अपमान हुन्छ’  उनले थपे, ‘परेदेखि यो क्षेत्रमा दुई–चार ओटा संस्था हामी नै खेलिदिन्छौँ, तर उनीहरुसँग झुक्दैनौँ !’

नेपालीले अष्ट्रेलियामा घर किनेर बस्न थालेको लगभग ५० वर्ष भयो । त्यसयता जातीय, क्षेत्रीय, खेलकुद, आस्था, परोपकारका लागि सकृय नेपालीका सयौँ संस्था तथा समूह छन् । हरेक संस्थामा किचलो उस्तै छ । बैठक बस्दा, अधिवेशन हुँदा नयाँ योजनामा कुरा हुन पाउँदैन । बैठकहरु अमुक व्यक्ति, समूह वा नेपाल छँदाको राजनीतिक आस्थामा केन्द्रित हुन्छ र जुँगाको लडाईं वा इगोको वरिपरि घुमिरहन्छ ।

मधेस जन्मथलो भएका नेपालीहरुको संस्था एसाेसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (नाटा) ले १८ जनवरीमा सिड्नी अवनको एउटा रेष्टुरेण्ट मा पत्रकार सम्मेलन गर्‍यो। स्थापनाको १० वर्ष पुगेको अवसरमा होली हंगामा कार्यक्रमको जानकारी दिँदै नाटाका अध्यक्षले भने ‘औचित्य प्रष्ट र पोजिटिभ छ भने मात्रै नेपालीका संस्थाको काम छ । नत्र छैन ।’

कार्यक्रममा एक मित्रले पत्रकारहरुलाई पनि सोधे, ‘तेस्रो पटक खुलेको अष्ट्रेलियाका पत्रकारहरुको संस्थाचाहिँ कति दिनका लागि हो ?’ अष्ट्रेलियामा क्रियाशील पत्रकारहरुले यस वर्ष जनवरीको सुरुमै नेपाली पत्रकारका लागि काम गर्ने नेप्लिज अष्ट्रेलियन पत्रकार संघ गठन गर्न तदर्थ समिति बनाए । अष्ट्रेलियामा पत्रकारिताको नाममा संस्था गठन गर्न खेजिएको यो तेस्रो पटक रहेछ ।

अष्ट्रेलियामा नेपालीले संस्था खोल्न थालेको चाहिँ  ४३ वर्ष भयो । यहाँको जेठो संस्था नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए) ले एक महिना अघि उसको ४२ औँ साधारण सभा गर्‍याे । अष्ट्रेलियामा नेपालीलाई सहयोग गर्ने र नेपाल चिनाउने संस्थाको उद्धेश्य छ । सबै नेपालीलाई समेट्ने उद्धेश्यमा खुलेको संस्थामा किन सबै नेपाली अटाएनन् ? एसाेसिएसनका महासचिव ऋषि आचार्य भन्नुहुन्छ, विदेशमा बसेपछि नेपाली गाउँघरको माया लाग्छ, क्षेत्र प्रतिको जिम्मेवारी बोध हुन्छ र संस्था खोलेर केही गरौँ भन्ने अवस्थामा पुगिन्छ ।

आफूले गरेको कुराको जस खोज्ने सबैको बानी छ । ठूलो संस्थामा बसेपछि जस पाउन ठूलै काम गर्नुपर्छ त्यसैले नयाँ संस्था खोलेर काम गर्ने र जस लिने चलन बढीरहेको छ । आचार्य भन्नुहुन्छ “तर जति नै संस्थाहरुले खुले पनि ती सबै संस्थालाई नेतृत्व गरेर जाने मियो संस्थाचाँहि अझै खुल्न सकेको छैन । त्यसैले नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए)ले नेपालीहरुका संस्थाको मियो बन्ने रणनीति तयार गरिरहेको छ ।”

गैरआवासीय नेपाली संघ, अष्ट्रेलिया

अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएन)को स्थापना सन् २००५ मा भयो । एनआरएनको उदेश्य नेपाल बाहिर रहेका नेपालीलाई संगठित गर्नु, नेपाली नागरिकताको निरन्तरताको लागि पहल गर्नु, नेपाल प्रवर्द्धन गर्नु र लगानीको जोहो गर्नु हो । यी उदेश्य पूरा भएपछि एनआरएनको औचित्य के भन्ने पनि प्रश्न छ ।

अष्ट्रेलियामा एनआरएन गठन हुँदा नेपालीका पाँचवटा संस्था थिए । अहिले अनौपचारिक रुपमा भेला हुने, छलफल गर्ने, नेपालीका समूह गनीसाध्ये छैन । तर १४ वर्षअघि एनआरएन गठन हुँदा त्यतिखेर अष्ट्रेलियामा रहेका पाँच संस्थालाई समावेश गर्न सकिएको भए अहिले नेपाली बस्ने टोलैपिच्छे छुट्टै नामका संस्था खुल्दैनथ्यो भन्ने एकाथरीको आँकलन छ ।