बिनाकारण सर्वसाधरण कुट्ने दुई प्रहरी निलम्बित

प्रकाशित मिति:

बाग्लुङ – सामान्य भनाभनमै बागलुङको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ। २९ पुसमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवैलाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

दुवै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट लागेर फियो च्यातिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेको र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका छन्।

कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरेका छन्।