बुटवल उप–महानगरको सहयोगमा सयौं युवालाई इलम !

प्रकाशित मिति:

बुटवल – बुटवल उप–महानगरपालिकाले यहाँका सयौं युवाहरुलाई इलम सिकाएको छ । उप–महानगरले एक परिवार एक रोजगार÷स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवाहरुलाई इलम सिकाएको हो । मेयर युवा इलम नामको नौलो कार्यक्रममार्फत पहिलो चरणमा दुई सय ३५ जना युवाहरुलाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ । उप–महानगरपालिकाले १९ वटै वडाका तीय सय ६५ जना युवाहरुलाई पहिलो चरणमा विभिन्न विषयमा तालिम दिएको थियो ।

इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान सुरु गरिएको उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बुटवलका प्रमुख सुवेदीले सुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियानस्वरूप पहिलो चरणको प्राविधिक तालिम लिएका दुई सय ३२ जना युवाहरुलाई बुधबार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । सिप विकास तालिम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ्ग र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालिम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालिम लिएका ४६ जना, प्लम्बिङ्ग तालिम लिएका १२ जना र फेशन डिजाइन तालिम लिएका ९४ जनालाई बुधबार सिप सिकेको प्रमाणपत्र वितरण गरिएको उप–महानगरका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

सिकाइएका बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ अभियानमा तालिम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको मेयर सुवेदीको भनाइ छ । उप–महानगरपालिकाले सुरु गरेको यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रहरुले सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र तालिम कम्तीमा तीन महिनाको सिकाइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । सिप सिकेका युवाहरुलाई रोजगारीका लागि रोजगादाताहरुसँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

त्यसअवसरमा सिप विकास तालिम केन्द्र बुटवलका केन्द्र प्रमुख उमेश शर्मा, शाखा अधिकृत बालकृष्ण पौडेललगायतका विभिन्न विषयका प्रशिक्षकहरुले बुटवल उप–महानगरपालिकाको अभियानले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अभियानले युवाहरुमा उत्साह र जाँगर बढाएको उल्लेख गर्दै उहाँहरुले अब उपल्लो स्तरको तालिमको समेत व्यवस्था गर्नुपर्ने बताउनुभयो । दक्षजनशक्ति उत्पादनमा उप–महानगरको सराहनीय काम ः रोजगारदाता रोजगारदाता संस्थाहरुका तर्फबाट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाललगायतले दक्ष जनशक्तिको अभाव भइरहेका बेलामा बुटवल उप–महानगरपालिकाले महत्वपूर्ण कामको सुरुआत गरेको भन्दै अब आफूहरुले तालिम लिएका युवाहरुबाटै जनशक्ति लिने प्रतिबद्धता जनाउनुभयो ।
तालिमले हिम्मत आँखा देखायो, बढायो : प्रशिक्षार्थीहरु
विभिन्न विषयमा तालिम लिएका प्रशिक्षार्थीहरुले तालिमले आफूहरुको आँखो खुलेको र हिम्मत बढाएको प्रतिक्रिया दिएका छन् । सुरुमा पत्रकारिता तालिमको चाहना राखेका तर साथीहरुसँगै एसी बनाउने तालिम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभुवन कंडेलले तालिमले आत्मविश्वास हौसला दुवै बढाएको बताउनुभयो । उहाँले आधारभूत तालिम लिएकालाई अर्को एड्भान्स तालिमको व्यवस्था गर्न जरुरी रहेको कंडेलजस्ता युवाहरुको माग छ । कुकको तालिम लिएकी कालिकानगरकी मायादेवी सारु, बेलबासकी सिर्जना पन्थी, पाखापानीकी बेबी रायमाझी तथा फेसन डिजाइनको तालिम लिएकी राधिका घिमिरेलगायतले तालिमले दक्ष बनाउने काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँहरुले अर्को उपल्लो स्तरको तालिमको पनि खाँचो रहेको बताउनुभयो ।
सिप सिकेका विषयहरु
उप–महानगरले युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारेको पनि तालिम दिइरहेको छ । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलका अनुसार उक्त तालिम चलिरहेको छ । हाल कुकिङ, एसी र फ्रिज मर्मत तथा फेसन डिजाइनको पहिलो चरणको तालिम भने सकिएको छ ।
युवाहरुलाई यो चरणमा अटो मेकानिक्स, जनरल मेकानिक्स, विल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिम, तथा एसी, रेफ्रिजरेटर मर्मतलागायतका विषयमा तालिम दिइएको उप–महानगरपालिकाका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । पहिलो चरणको तालिम समापन समारोहको सञ्चालन सामाजिक शाखाका अधिकृत दामोदर ज्ञवालीले गर्नुभएको थियो ।