लिलामीमा राखिएको पजेरो गायब

प्रकाशित मिति:

बर्दिया — भन्सार कार्यालयले ७ वर्षअघि नै लिलामीमा राखेको पजेरो गाडी ‘गायब’ भएको छ । ७ वर्षअघि कार्यालयले कागजात र विवरण नभएपछि बरामद गरी लिलामीमा राखेको थियो । तर, अहिलेसम्म न त्यसको लिलामीबाट राजस्व संकलन भयो, न कहाँ छ भन्ने जानकारी नै छ ।

कागजात नभएको फेला परेपछि स्थानीय प्रहरीले २०६८ असोज १० गते गाडी नियन्त्रणमा लिएको थियो । लिलामीमा राखेपछि भन्सार विभागले नै गाडी काठमाडौं मगाएको थियो । कारबाहीका लागि पठाइएको गाडीका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको विभागका डीजी तोया रायमाझीले बताए । ‘कसैले प्रयोग गर्दै अएको होला,’ उनले भने, ‘सिंगो गाडी नै हराउने कुरा हुँदैन ।’

प्रहरीले गुलरिया नगरपालिकाको कोठियागाउँ नजिकबाट नम्बर नखुलेको पजेरो गाडी नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार त्यो पजेरोत्यतिबेला वाईसीएलका एक केन्द्रीय नेताले प्रयोग गर्ने गरेका थिए । प्रहरीले नियन्त्रणमा लिनासाथ वाईसीएलका नेताले प्रहरी र भन्सार कार्यालयमै गाडी छोडन दबाब दिएका थिए । भन्सार कार्यालयका अनुसार पजेरोमा इन्जिन नम्बर एचके ७७०४, चेसिज नम्बर एम७०३भी४६डब्लू८एल०० ४२०१ उल्लेख छ ।

भन्सार विभागले ०६८ चैत १५ मा चलानी नम्बर १४२२ को पत्रसहित गाडी लिन चालक पठाएको थियो । भन्सार कार्यालयका प्रमुख ओपेन्द्र हमालले नियन्त्रणमा लिएको पजेरो विभागले काठमाडौं मगाएको भए पनि त्यसपछिका कुनै पनि प्रक्रिया र अवस्थाका बारेमा आफूलाई जानकारी नभएको बताए ।

नियन्त्रणमा लिएर लिलामीमा राखिएको पजेरोको सुराकीलाई दिनुपर्ने कमिसन पनि नदिएको र फस्र्यौटका लागि विभागले कुनै प्रक्रिया अघि नबढाएको कार्यालयले जनाएको छ ।