महाधिवेशन घोषणा माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं – तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर नाराबाजी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा बिहीवार नेविसंघ कार्यकर्ताले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने भन्दै नाराबाजी गरेका हुन् ।

असन्तुष्ट समूहका नेता दीपक भट्टराईको नेतृत्वमा मोटर साइकल र्‍यालीसहित सानेपा पुगेका कार्यकताले नाराबाजी गरिरहेका छन् । वर्तमान नेतृत्वले नेविसंघको महाधिवेशन गर्न नसक्ने भएकोले तदर्थ समिति गठन गर्न उनीहरूले माग गरेका छन् ।

‘असक्षम कार्यसमितिको म्याद लम्ब्याउने प्रपन्च भएकोले खबरदारीस्वरूप पार्टी कार्यालयमा आएका हौं,’ भट्टराईले लोकान्तरसँग भने । राजधानीका विभिन्न क्याम्पसबाट १ हजारको संख्यामा कार्यकर्ता आउन लागेको उनले दाबी गरे । नेविसंघ कार्यकर्ताको प्रदर्शनका कारण कांग्रेस कार्यालयमा सुरक्षा व्यवस्था मिलाइएको छ । नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएपछि आजसम्मको म्याद थपिएको थियो ।