शहीद शुक्रराज शास्त्री हत्याको ७८ वर्ष, यसरी मारिएको थियो शास्त्रीलाई

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
45 Shares


काठमाडौं- जहानीया राणा शासनको विरुद्ध लागेको आरोपमा फाँसीमा झुण्ड्याईएका शहीद शुक्रराज शास्त्रीको हत्या भएको आज ७८ वर्ष पुगेको छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीद शास्त्रीको हत्या भएको दिनदेखि नै नेपालमा औपचारिक रुपमा शहीद सप्ताहको सुरु हुने गरेको छ ।

वि. सं. १९५० सालमा बनासरमा जन्मिएका शुक्रराज शास्त्री राणा शासन विरुद्धको आन्दोलनका मूल ४ शहीदहरु मध्येका पहिला शहीद हुन् । यद्यपि नेपालको पहिलो शहीद भने लखन थापा हुन् । धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय भएका शास्त्रीलाई काठमाडौंको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर पक्राउ गरिएको थियो । पक्राउ परेपछि जेल सजाय तोकेको राणा शासनहरुले शास्त्रीलाई जेलमा समेत खुशीसाथ रहन दिएन र अन्ततः राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा, नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

१२ सालदेखि औपचारिक रुपमा शहीदको सम्झना
यसरी नागरिक स्वतन्त्रताको विषयमा ज्यान आहुती दिने शहीदहरुको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाउन सुरु भएको हो । तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो ।

विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो । मंगलवार माघ १६ गते शहीद दिवसका दिन बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।

पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनिहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २०६२र६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो ।

सरकारसँग शहीदको स्पष्ट तथ्याङ्क छैन

विसं २०६२र६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्ने गरिएकामा सर्वसाधारणको गुनासो छ। पछिल्लो पटक सरकारले यही माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमेश ढकालले जानकारी दिए ।

मन्त्रालयले हाल सम्पूर्ण शहीदको तथ्यांक सूची संकलन गरी स्पष्ट अभिलेख राख्न शुरु गरेको सहप्रवक्ता ढकालले बताए । यद्यपि मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई शहीद घोषणा गरेको मन्त्रालयको राहत तथा तथ्यांक महाशाखाका उपसचिव मीरा आचार्यले जानकारी दिइन् ।

त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्यांक देखिँदैन । साथै पटक पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्यांक भेटिँदैन । सरकारले ती आन्दोलनमा मारिएका व्यक्ति र भएको क्षतिबारे यकिन गर्न विभिन्न आयोग गठन गरेको थियो ।

मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया