स्कुल भ्यान दुर्घटना, ६ विद्यार्थी घाइते २ को अवस्था गम्भीर !

प्रकाशित मिति:

विराटनगर – विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै विद्यार्थी १० वर्ष मुनीको रहेको प्रहरीले जनाएको छ। सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा सोही स्कुलको युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएको प्रनि रानाले बताए।

भेनमा सवारमध्ये कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेको विराटनगरस्थित कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर छ। घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएका हुन्। दुर्घटनापछि भ्यानका चालक विराटनगर- १४ का वीरेन्द्र महतो फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।

अन्नपूर्णपोस्ट