डोनल्ड ट्रम्पको किम जङ-अनलाई पत्र, के लेखे पत्रमा जुन पढेर किम जङ-अन परे दङ्ग

प्रकाशित मिति:

काठमाडौं – उत्तर कोरियाका नेता किम जङ अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई पठाएको चिठी पढेर निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् गत साता वाशिङ्टन पुगेर ट्रम्पलाई भेटेका उनका निकट सहयोगीको हातमा ट्रम्पले सो चिठी पठाएका थिए।

चिठीमा भएका विषयवस्तुबारे प्रस्ट पारिएको छैन। तर उत्तर कोरियाली सरकारी समाचारसंस्था केसीएनएले यसबारे दिएको समाचारबाट त्यसको केही सङ्केत मिल्न सक्छ। किम जङ अनले राष्ट्रपति ट्रम्पको सकारात्मक सोचाइमा विश्वास भएको बताएका छन्। साथै संयमतापूर्वक र असल नियतका साथ पर्खँदै, अनि सँगसँगै दुई देशले हासिल गर्नुपर्ने लक्ष्यतर्फ अघि बढ्ने बताएका छन्, केसीएनएले उल्लेख गरेको छ।

सो रिपोर्टमा किमले ‘दोस्रो शिखर सम्मेलनका लागि प्रदर्शन गरेको अस्वाभाविक दृढता एवम् इच्छाशक्तिका निम्ति राष्ट्रपति ट्रम्पको उच्च प्रशंसा’ गरेको जनाइएको छ।

किमका यी भनाइ उनले नयाँ वर्षको बेला गरेको सम्बोधनभन्दा निकै भिन्न छन्।
त्यतिखेर उनले अमेरिकाले उनको देशविरुद्ध आर्थिक प्रतिबन्ध जारी राखेमा उत्तर कोरियाले अर्कै बाटो समात्न सक्ने चेतावनी दिएका थिए।

के होला दोस्रो भेटमा ?

दुवै नेताले अर्को महिना दोस्रो शिखर सम्मेलनको योजना बनाइरहेको ह्वाइट हाउसले जनाएको छ। कोरियाली प्रायद्वीपको परमाणुनिरस्त्रीकरणबारे कुराकानी गर्न उनीहरूले गत जुन महिनामा ऐतिहासिक पहिलो शिखर बैठकमा भाग लिएका थिए। त्यसयता उक्त मुद्दामा खासै प्रगति भएको छैन। गत वर्षको सम्बन्ध सुधार र सिङ्गापुर सम्मेलनभन्दा पहिले सन् २०१७ दुवै देशका निम्ति तनावपूर्ण थियो। उत्तर कोरियाले अमेरिकी मूलभूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू परीक्षण गर्यो। दुवै पक्ष आरोप प्रत्यारोपमा मात्रै उत्रिएनन्, उनीहरूले एकअर्कालाई परमाणु विनाशको धम्की पनि दिए।

सिङ्गापुरको सम्मेलनमा दुवै पक्षले परमाणुनिरस्त्रीकरणबारे साधारण सहमति गरेका थिए। तर त्यसयता उत्तर कोरियाले उसका परमाणुक्षमताबारे विस्तृत विवरण उपलब्ध गराएको छैन र ऊ विरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध कायमै छन्। तर पछिल्ला दिनहरूमा दोस्रो शिखर बैठकको तयारीका सन्दर्भमा शृङ्खलाबद्ध कूटनीतिक गतिविधि भइरहेका छन् सिङ्गापुर सम्मेलनको पूर्वसन्ध्यामा जस्तै दोस्रो सम्मेलनको सँघारमा पनि किम जङ(अनले चीन पुगेर राष्ट्रपति सी जिन्पिङई भेटेका छन्। साथै उनका प्रमुख वार्ताकार किम योङ(चोलले राष्ट्रपति ट्रम्पलाई भेटेका छन्। दोस्रो भेटका लागि स्थान तोकिएको छैन तर जानकारहरूले भियतनाम रोजिन सक्ने बताएका छन्। साथै दोस्रो भेटको विस्तृत एजेन्डा पनि लगभग परमाणुनिरस्त्रीकरणमै केन्द्रित हुने ठानिएको छ।

अमेरिका र उत्तर कोरियाबीच परमाणुनिरस्त्रीकरण तथा आर्थिक प्रतिबन्धको अन्त्यमध्ये कुन पहिला गर्ने भन्नेबारे मतभेद छन्। साथै प्योङ्याङमाथि ती आर्थिक प्रतिबन्धहरू पटकपटक छल्न खोजेको आरोप पनि लागेका छन्। बीबीसीमा खबर छ ।