बाल विवाहविरुद्धको अभियानमा किशोरीहरु, धामीझाक्रीको पनि साथ

प्रकाशित मिति:

 बैतडी – पाँचबर्ष अगाडी बैतडी सबैभन्दा बढी बालविवाह हुने ५ जिल्ला भित्र पर्दथ्यो । बालविवाह बढी हुन थालेको र बालविवाहले विभिन्न समस्या निम्तिन थालेपछी स्वयं किशोरीले जागरुक भएका छन् ।

बालविवाहका कारण महिलाहरुले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसाहरु खेप्नुपरेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । बालविवाहका कारण थुप्रै समस्या हुने गरेकाले आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताईन् । उनले भनिन्“ बालविवाह न्यूनीकरणका लागि आफूहरुले गाउँमा अभिभावक सहितलाई सचेत गराउन थालेका छौ ।”

विभिन्न सामाजिक, आर्थिक लगायतका कारणहरुले बर्षौंदेखि बालविवाह हुँदै आएको छ । बालविवाहले खास गरेर किशोरी तथा महिलाहरुमा समस्या निम्त्याउन थालेपछि यसको न्यूनीकरणका लागि किशोरीहरु जुट्न थालेका छन् । बालविवाहका कारण महिलाहरुले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरीरहेकाले आफूहरु बालविवाह विरुद्धकोअभियानमा सक्रिय भएको शिवनाथ गाउँपालिकाका अर्की किशोरी सोनिया पार्कीले बताईन् । उनले भनिन्“ बालविवाह न्यूनीकरणका लागि पहिला आँफै सचेत हुने र पछि अरुलाई पनि सचेत गराउने कार्यमा लागेका छौं ।”

जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले बालविवाह विरुद्धको कार्यक्रम सञ्चालनमा ल्याएको छ । बालविवाह न्यूनीकरण अभियानमा लागेका किशोरीहरुलाई सक्षम बनाउनका लागि विभिन्न खालका तालिम समेत दिने गरिएको छ । बालविवाह न्यूनीकरणका लागि जनचेतनाले मात्रै नभएर उनीहरुलाई आर्थिक उपार्जनका क्रियाकलापमा समेत संलग्न गराउने निती सरकारले लिएको छ । सोही निती अनुसार किशोरीहरुलाई सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्याका कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । ती दुई गाउँपालिकाका किशोरीहरुलाई विभिन्न खालका तालिम दिएर उनीहरुलाई सक्षम बनाउनका लागि पहल भईरहेको छ उनले भने“ बालविवाहले महिला तथा किशोरीहरुमाथि विभिन्न खालका हिंसाहरु हुने भएकाले किशोरीहरुलाई बालविवाह न्यूनीकरणको अभियानमा सक्रिय गराएका हौं ।”

किशोरीहरु आँफैले पहल थाले
बालविवाह न्यूनीकरणका लागि बैतडीमा किशोरीहरुले आँफैले पहल थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरीवृतमा आवद्ध किशोरीहरु बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन् ।

बालविवाहले पार्ने असर, बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका बिषयमा जानकारी दिदै बालविवाह न्यूनीकरणको अभियान थालेको पञ्चेश्वर गाउँपालिकाकी अञ्जु चन्दको भनाई छ ।

आफ्नो गाउँपालिकाका प्रत्येक वडामा किशोरीवृतमा आवद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको शिवनाथ गाउँपालिकाकी धनेश्वरी महताले बताईन् । आफूहरुले सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेको किशोरीहरुले बताएका छन् ।

बालविवाहका कारण किशोरीहरुले विद्यालय छोड्नुपर्ने, छिटै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्याहरु आउने कुरा आफूले थाहा पाएपछि गाउँमा पनि समूहमा सिकाउने गरेको शिवनाथकी सोनिया पार्कीले जानकारी दिईन् ।

पाटन नगरपालिकाका महिला विकास निरीक्षक बिष्ना भण्डारीले छोरीहरुले आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्नुपर्ने अभियान सञ्चालन गर्नुपर्ने बताईन् । यस्तै नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले रेडक्रसले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषसंग मिलेर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको बताए । मागेर हुने बालविवाह रोकिएपनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको छ ।

एकसय बढी बालबिवाह रोकिए
बैतडीमा ५७ ओटा किशोरीवृतमा आवद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन् । जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत समूहहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । किशोरीवृतको पहलमा एकसय बढी बालविवाह रोकिएको उहाँले बताउनुभयो । मागेर हुने बालविवाह रोकिएपनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उनले बताए ।

बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकहरुलाई समेत सिकाउने गरेको किशोरीवृतका सहजकर्ताहरुले बताएका छन् । आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीहरुलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताईन् ।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले ५ बर्ष अघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९.५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । बालविवाहका कारण किशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किलातारा किशोरीवृत रौलेश्वरका अध्यक्ष द्रोपती बिष्टले बताईन् ।

बालक्लब र किशोरीवृतहरुले दिने जानकारीका कारण आफूहरुलाई पनि बालविवाह न्यूनीकरणमा सहयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

बैतडीका बिभिन्न ग्रामिणस्तरमा अझै पनि उमेर नपुगेर छोराछोरीको बिहे गर्ने चलन कायमै छ ।

बालविवाह न्यूनीकरणमा धामीझाक्रीको पनि साथ 
बैतडीमा धामीझाक्री बालविवाह न्यूनीकरण अभियानमा लागेका छन् । जिल्लाका विभिन्न गाविसमा रहेका धामीझाक्रीहरु घरघरमा गएर बालविवाह रोक्न सक्रिय भएका हुन् । जिल्लाको पाटन नगरपालिकामा धामी झाक्रीहरुले प्रतिष्ठित धामी समूह नै निर्माण गरेर बालविवाह विरुद्धको अभियानमा लागेका छन् ।

प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले आफूहरु बालविवाह न्यूनीकरणका लागि घरघरमा गएर अभियान चलाइरहेको बताए । बालविवाह न्यूनीकरणका लागि अहिले घरदैलो अभियान सञ्चालन भइरहेको छ उनले भने “ बालविावहले समग्र महिलाको जीवनमा नकारात्मक असर पारीरहेकाले आफूहरुले बालविवाह न्यूनीकरणको अभियान शुरु गरेका हौ ।”

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी तथा गैरसरकारी निकायहरुले बालविवाहका बारेमा जानकारी दिएपछि बालविवाह न्यूनीकरणका लागि आफूहरु लागिपरेको सलेनाका धामी मोहन बहादुर चन्दले बताए ।

बालविवाह न्यूनीकरणका लागि आफूहरु अहिले कार्ययोजना नै बनाएर विभिन्न गाउँटोलमा जाने गरेको बालविवाह न्यूनीकरण समितिका सचिव भोजराज जोशीको भनाई छ । जिल्लाका विभिन्न स्थानमा बालविवाह न्यूनीकरणका लागि धामी झाक्री,ज्योतिष पण्डितहरुको कार्यान्वयन समिति गठन गरिएको छ ।

धामीझाक्रीहरु पनि सक्रिय भएपछी बालबिवाह न्युनीकरण सहयोग पुगेको छ । साथै जिल्लाका सबै स्थानीय तहहरुले पनि बालविवाह न्यूनीकरण अभियानमा साथ दिएका छन् ।