कृषिको समस्या मन्त्रीलाई

प्रकाशित मिति:

घोराही – नेपाल सरकारका कृषिमन्त्री चक्रपाणि खनाललाई दाङका व्यवसायीले किसानका समस्या सुनाएका छन् । उद्योग वाणिज्य सङ्घले आज घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा यहाँका व्यवसायीले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा पूरा गर्न सबैभन्दा पहिले किसानका समस्या समाधान हुनुपर्ने धारणा राखे ।

कृषिमन्त्रीसँग आफ्नो कुरा राख्दै उद्योग वाणिज्य सङ्घका प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडेले कृषि उपज राख्न प्रयोग हुने चिस्यान केन्द्रका मेशिन नेपाल भित्र्याउँदा भन्सारमा दोहोरो, तेहेरो कर लगाउँदा मेशिनको मूल्य बढ्न जाने र अन्तमा किसानलाई नै तरकारी फलफूल राख्दा महँगो पर्न गएको भन्दै कृषिसँग जोडिएको उपकरण नेपाल भित्र्याउँदा करमा मिनाहा गर्न आग्रह गरे । उनले भने, ‘बरु भारतबाट आउने तरकारी फलफूलमा कर लगाउनुपर्छ जसले गर्दा यहाँका किसानले उत्पादन गरेको कृषि उत्पादनले मूल्य पाउँछ ।’

यस्तै कुखुरा व्यवसायी समिति दाङका अध्यक्ष नीमबहादुर बुढाथोकीले आफुहरूले उत्पादन गर्ने चल्ला निर्यातमा ट्राफिकले अनावश्यक दुःख दिने, लामो समयसम्म बाटोमा रोकिदिने गर्दा किसानसम्म चल्ला ढिलो पुग्ने र २४ घण्टामा पुग्नुपर्ने चल्ला ७२ घण्टासम्म पनि नपुग्दा किसान मारमा पर्ने गरेको बताए । उनले भने, ‘ढिलो पुगेको चल्ला मर्ने, चाँडो नबढ्ने गर्दा किसानलाई घाटा लाग्छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँमा चल्ला निर्यातलाई अनावश्यक रोकटोक गर्ने कार्य अन्त हुनुप¥यो ।’

अर्का व्यवसायी श्रीधर पोखेरलेले पनि वास्तविक सीप, क्षमता भएका कृषकले भन्दा कागजमा निवेदन मिलाउन जान्ने र पहुँच भएकाले मात्रै अनुदान, सहुलियत, छुटजस्ता सुविधा पाउँदा वास्तविक किसानसम्म नेपाल सरकारको बजेट पुग्न नसकेको बताए । घोराहीमा स्थापना गरिएको प्रदेशस्तरीय मत्स्य तथा पशु विज्ञ केन्द्रका प्रमुख डा बेदबहादुर केसीले पनि दाङमा कृषिको प्रचुर सम्भावना रहेको र यहाँका किसानले उत्पादनलाई जोड दिए पनि पशु तथा कृषि बालीमा देखिने रोग समयमा निदान हुन नसकेको हुँदा प्रयोगशाला स्थापनाका लागि पहल गरिदिन कृषिमन्त्री खनाललाई आग्रह गरे ।

कृषि मन्त्रीसँगको भेटघाटमा अन्य व्यवसायीले पनि सिँचाइ समस्याका कारण कृषिलाई व्यापक बनाउन र व्यवसायीकरणतर्फ जोड्न समस्या भएको गुनासो गरेका थिए । साथै उनीहरूले पछिल्लो समय गाउँका कुनाकुनामा पनि जमीन टुक्रा पारेर बेच्ने परिपाटी वृद्धि हुँदा कृषियोग्य जमीन ध्वस्त हुन पुगेको गुनासो गरेका थिए ।

सो अवसरमा कृषिमन्त्री खनालले अन्य जिल्लाको तुलनामा दाङले फड्को मारेको भन्दै यसलाई अझै विस्तार गर्न सरकारले प्रयास गर्ने बताए । उनले दाङको समथर भूभागलाई कृषि उत्पादनको उद्गमस्थल बनाउन प्यूठान जिल्ला भएर बग्ने माडीको पानीलाई ‘डाइभर्सन’ गरी दाङ ल्याउने र सिँचाइ विस्तार गर्ने योजना बनिरहेको बताए । ‘अब युवालाई रोजगार दिन र देशलाई आत्मनिर्भर बनाउन कृषिमा बजेट बढाउनै पर्ने भएको छ । बिना बजेट काम हुँदैन,’ उनले भने, ‘नेपालमा अहिले धेरै समस्या छ र सम्भावना पनि उत्तिकै प्रचुर छ ।’

मन्त्री खनालले विशेषगरी कृषिलाई प्राथमिकता दिन सके, पर्यटनमा रोजगार विस्तार गर्न सके र ऊर्जा उत्पादन बढाउने सके नेपालको अर्थतन्त्र आयातमुखी नभई निर्यातमुखी बन्ने बताए । उनले अबको पाँच वर्षभित्र उत्पादन दोब्बर वृद्धि गर्ने र १० वर्षभित्र निर्यातको अवस्थामा पुग्ने योजना ल्याउन लागेको जानकारी दिए ।