मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

प्रकाशित मिति:

काठमाडौं – मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।त्यसैगरी, नेपालगन्ज र सुर्खेत विमानस्थलबाट हुने उडान रद्द भएका छन्। दुई विमानस्थलबाट पश्चिमतर्फका दुर्गम जिल्ला जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यका दुई दर्जन उडान रद्द भएका हुन्। नियमित उडानबाहेक काठमाडौंबाट हुने डेढ दर्जन बढी पर्वतीय उडान ९माउन्टेन फ्लाइट रद्द भएका हुन्।त्रिभुवन विमानस्थलबाट हुने सोलुखुम्बु बाहेक अन्य उडान भने नियमित तालिका अनुसार नै भएको विमानस्थलका उपनिर्देशक सीताराम भण्डारीले जानकारी दिए।

‘काठमाडौंबाट उच्च पहाडी तथा हिमाली क्षेत्रमा सोलुखुम्बु बाहेक अन्य जिल्लामा त्यत्ति उडान हुँदैन,’ विमानस्थलका उपनिर्देशक भण्डारीले भने, ‘बुधबार सोलुखुम्बुको लुक्लाको लागि १३ उडान थियो, मौसम खराब भएपछि ती रद्द भयो।’ फाप्लुको लागि भने बुधबार उडान तालिका नभएको उनले बताए।मंगलबार मध्यरातबाट मौसम खराब भएपछि वर्षा र हिमपात भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा पनि हिमपात भएपछि बुधबारको उडान रद्द गरिएको विमानस्थल कार्यालयले जनायो। हिमपात नभएका विमानस्थलमा भने मौसमको खराबीले ‘भिजिबिलिटी’ ९दृश्यांश० शून्य हाराहारीमा भएपछि उडान नगरिएको हो।उच्च पहाडी तथा हिमाली क्षेत्रमा तारा, सीता, समिट लगायत निजी एअरलाइन्स कम्पनीले उडान गर्दै आएका छन्। राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमका विमानले पनि उडान गर्छन्। तर, निगमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने विमान पाइलट अभावको कारण थन्किएर बसेका छन्।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार निजी क्षेत्रले गर्ने उच्च पहाडी तथा हिमाली क्षेत्रका सबै उडान रद्द भएका हुन्। ‘मौसमले साथ नदिएपछि उडान गर्ने कुरा हुँदैन,’ आर्चायले भने, ‘काठमाडौं, नेपालगन्ज, सुर्खेत र माउन्टेन फ्लाइट लगायत गरेर ५० भन्दा बढी उडान रद्द गरिएको छ।’ उनका अनुसार बुधबार हुने अधिकांश उडान रद्द भएका हुन्। काठमाडौंबाट उच्च पहाडी तथा हिमाली क्षेत्र सोलुखुम्बुमा र माउन्टेन फ्लाइट हुने गर्दछ। त्यसैगरी। नेपालगन्ज र सुर्खेत विमानस्थलबाट पश्चिमतर्फका दुर्गम जिल्ला जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यमा उडान हुन्छ।नियमित उडानमात्रै नभएर पर्वतीय उडान ९माउन्टेन फ्लाइट पनि रद्द भएका छन्। ‘मौसम सफा भएको बेला काठमाडौंबाट दैनिक १५ देखि २० वटासम्म माउन्टेन फ्लाइट हुन्छन्,’ उनले भने, ‘मौसम बिग्रिएपछि ती पनि कुनै उडान हुन पाएनन्।’ माउन्टेन फ्लाइट बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स र सिम्रिक एअर लगायत कम्पनीले गर्दै आएका छन्।उच्च पहाडी तथा हिमाली क्षेत्रका बाहेक पहाडी तथा तराईका जिल्लामा हुने उडानलाई भने मौसमले कुनै असर गरेको छैन। बिग्रिएको मौसमले अन्तर्राष्ट्रिय उडानमा पनि कुनै असर नगरेको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। त्रिभुवन विमानस्थलका अनुसार सामान्य दिनमा दैनिक करिब चार सय आन्तरिक उडान हुने गरेका छन्। तीमध्ये झण्डै ५० उडान प्रभावित भए पनि बाँकी उडान तालिका अनुसार नै भएको तिवारीले जानकारी दिए। मौसममा खासै परिवर्तन नहुने देखिए पनि बुधबार उडान रद्द गरेका सबै एअरलाइन्स कम्पनीहरुले बिहीबारको उडान तालिका राखेका छन्।

संघका प्रवक्ता आर्चायका अनुसार बिहीबार पनि मौसम अनुकूल नभए उडान हुँदैन। उडान नहुँदा यात्रुले टिकट रद्द गर्न चाहेमा तिरेको शुल्क फिर्ता लिएर रद्द गर्न सक्छन्। ‘सिजनको बेलामा उडान रद्द हुँदा अघिल्लो दिनका यात्रुलाई भोलिपल्ट यात्रा गराउन गाह्रो हुन्थ्यो,’ उनले भने, ‘यो अफ सिजन भएकाले एक दिनको उडान रद्द भए पनि अर्को दिन उडाउन सकिन्छ।’उनका अनुसार सिजनको बेला भने धेरै दिनसम्मको टिकट पहिला नै बुक भइसकेको हुन्छन्। त्यसैले एक दिन उडान नहुँदा ती यात्रुलाई यात्रा गराउन समस्या हुन्छ। अफसिजनमा भने दुई–चार दिनै मौसममा खराब भए पनि यात्रुलाई सहजै व्यवस्थापन गरेर यात्रा गराउन सकिने उनले बताए। मौसम खराब भएको खण्डमा उडान रद्द भए, नभएको विषयमा विमानस्थल गएर वा सम्बन्धित एअरलाइन्स कम्पनीलाई फोन गरेर जानकारी लिन सकिने उनले बताए।