सरकारले गोविन्द केसीसँग भएको सम्झौता उलङ्घन गर्न खोज्योः काँग्रेस

प्रकाशित मिति:

काठमाडौँ–नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ ।

बैठकले सरकारको सो कार्यप्रति आपत्ति प्रकट गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकले अनशनरत डा गोविन्द केसीसँग यसअघि भएका सहमति पालना नगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न सत्तापक्ष उद्यत् रहेको पनि आरोप लगाएको छ । अनशनरत डा केसी आमजनताको स्वास्थ्यको हकका लागि अनवरत सङ्घर्षरत रहेको जनाउँदै उनको जीवनरक्षाका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेको छ । काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थिति बेगर संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको बैठकपछि निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधी हालसम्म पत्ता लगाउन नसक्नु लज्जाको विषय भएको भन्दै घटनाको अविलम्ब सत्यतथ्य छानविन गरी, अपराधी पत्ता लगाइ कडा कानूनी कारवाही गर्न पुनःमाग गरेको छ ।