धनगढीबाट पुनःश्रम स्वीकृति लिन सकिने

प्रकाशित मिति:

धनगढी  – सरकारले आजबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृति लगायत सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा सुरु गरिएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले जानकारी दिए । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी आज बिहान सो सेवाको शुभारम्भ गरेका हुन् ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी अनुमति पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने जोशीले जानकारी दिए ।

यो सुविधा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका श्रमिकहरुलाई प्रदान गरिने छ । प्रदेशका राजधानी सहरमा रहेका श्रम तथा रोजगार कार्यालयमा बैदेशिक रोजगार डेस्क पनि थपिएको जोशीले बताए । मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट पुनस् श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो ।

त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेश र गत आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृति लगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । प्रदेश १ मा पनि आवश्यक तयारी गरी छिट्टै सेवा प्रवाह गरिने तयारी रहेको मन्त्रालयले जनाएको छ । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि संघीय राजधानी काठमाण्डु धाउनुपर्ने अवस्थाको क्रमशस्अन्त्य हुँदै गएको छ ।