नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

प्रकाशित मिति:

मेलबर्न, (एजेन्सी)- दोस्रो वरियताका राफाल नाडाल ग्रीसका युवा खेलाडी स्टेफानोसलाई सीधा सेटमा हराएर अस्टे«लियन ओपनको फाइनलमा पुगेका छन् । ३२ वर्षीय नाडालले २० वर्षीय स्टेफानोसलाई ६–२, ६–४, ६–० ले हराएका हुन् । १ घण्टा ४६ मिनेटको समय लगाएर स्पेनी खेलाडीले फाइनलमा स्थान सुरक्षित गरेका थिए । स्टेफानोसले रोजर फेडेररको छुट्टी गरेका थिए । तर उनी नाडालसँग भने त्यो प्रदर्शन गर्न सकेनन् । उपाधिका लागि उनको सामना आज हुने खेलका विजेतासँग हुनेछ । जसमा नोभाक जोकोभिच र फ्रान्सका लुकास पउलीबीच खेल हुँदैछ ।

२००९ मा मेलबर्न पार्कमा उपाधि जितेका नाडालले यसपछि तीन वटा फाइनलमा हारको सामना गरेका थिए । यो उनको मेलबर्न पार्कमा पाँचौ फाइनल हो । उनी २०१२ मा नोभाक जोकोभिचसँग हारे भने २०१४ मा स्टान वावरिन्कासँग पराजित हुन पुगेका थिए । यस्तै २०१७ मा उनी रोजर फेडेरर उनको उपाधि जित्नेमा बाधक बनेका थिए । यदि फाइनल जितेमा नाडालले करियरमा १८औं ग्रान्डस्लाम उपाधि जित्नेछन् ।

ओसाका फाइनलमा
अस्टे«लियन ओपनअन्तर्गत जापानी खेलाडी नाओमी ओसाका महिला सिंगल्सतर्फ फाइनलमा पुगिन् । ओसाकाले चेक गणतन्त्रकी कारोलीना प्लीस्कोभालाई ६–२,४–६, ६–४ ले हराएर फाइनलमा स्थान सुरक्षित गरेकी हुन् । उनको यो लगातार दोस्रो ग्रान्डस्लाम फाइनल हो । यसअघि गत वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता युएस ओपनमा उनले करियरकै मेडन उपाधि जितेकी थिइन् । यो उपाधि जित्दा भन्दा पनि सेरेना विलियम्सको विवादास्पद टिप्पणीले चर्चित बनेको थियो । सेरेनाले अम्पायरलाई चोर भनेर सम्बोधन गरेकी थिइन् ।

ओसाकाले शनिबार हुने फाइनलमा चेककै खेलाडी पेत्रा कीटोभासँग खेल्नेछिन् । ओसाकाले शानदार खेल पस्कने क्रममा १५ एस र ५६ विनर्स शट प्रहार गरेका थिए । उनको जितले चेक खेलाडीबीच फाइनल हुने संभावनालाई पनि समाप्त गरेको थियो । साथै मेडन ग्रान्डस्लाम जितेर फाइनल पुग्नेमा ओसाका अमेरिकाकी जेनिफर काप्रियाटी (२००१ मा) पछिको खेलाडी बनेकी छिन् ।

यस्तै कीटोभाले अमेरिकी खेलाडी डेनील कोलीन्सलाई ७–६, ६–० ले हराएकी थिइन् । पहिलो सेटमा कोलीन्सले कडा चुनौती दिएकी थिइन् । तर दोस्रो सेटमा भने कीटोभाको अगाडि कोलीन्सको कुनै पनि जवाफ काम लागेन । दुई पटकको विम्बल्डन च्याम्पियन कीटोभाले यदि उपाधि जितिन् भने पहिलो पटक विश्व नम्बर एक खेलाडी बन्नेछिन् ।