६३ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा

प्रकाशित मिति:

काठमाडौँ-  सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ ।  खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिशामुक्त क्षेत्र घोषणा भएकोे बताउनुहुन्छ । “तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिशामुक्त घोषणा गर्न ढिलाई भएको हो,”–उहाँ भन्नुहुन्छ ।

अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिशामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ ।  यस्तै बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारले विसं २०६० को दशकदेखि शुरु गरेकोे उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो ।

रासस