सिरहामा बस दुर्घटना, १ जनाको मृत्यु, ३० घाइते

प्रकाशित मिति:

लहान– सिरहाको कर्जन्हामा आज बिहान भएको बस दुर्घटनामा गम्भिर घाइते भएका एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पर्सागढीमाई नगरपालिका घर भएका करिब ३५ वर्षीय दिपराज यादव रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।प्रहरी नायव उपरीक्षक खनालका अनुसार यादवको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका तीनमध्ये एकको मृत्यु भएपछि बाँकी दुई जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ ।

प्रहरीका अनुसार बसचालक धनुषाको धनुषा नगरपालिका ८ घर भएका ३४ वर्षीय रामशरण यादव र धनुषा नगरपालिका ४५ वर्षीय रामप्रताप राउतलाई थप उपचारका लागि धरान पठाइएको हो । दुर्घटनामा मध्यमस्तरको घाइते भएका ६ सहित २८ जनाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।