राजधानीमा बालिका अपहरण गर्ने जनकपुरबाट पक्राउ

प्रकाशित मिति:

राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न दुईजना जनकपुरमा पक्राउ परेका छन्।
शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएको थियो। प्रहरीले बालिकालाई सकुशल अपहरणमुक्त गराइसकेको छ। बालिका अपहरणपछि फिरौतीको रकमसमेत उठाइसकेका दुईजनालाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

जनकपुरको नमस्कार चोकबाट प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बबलु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथबाट अपहरणमा असुली गरिएको ढेड लाख नगद पनि बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक थपलियाले बताए।