मुस्ताङमा हिमपात हवाई, यातायात, सञ्चार सेवा अवरुद्ध

प्रकाशित मिति:

शुक्रबार साँझदेखि भएको वर्षा र हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङमा यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो ।सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताउनुभयो । उहाँका अनुसार हिमपातपछि शुक्रबारदेखि नै मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा आपूर्ति बन्द भएको छ ।

 

विद्युत सेवा बन्द भएपछि अहिले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जोमसोम विमानस्थलको रनवेमा हिउँ जमेपछि हवाई उडान बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । अहिले पनि निलगिरी हिमाललगायतका डाँडाहरुमा बादल लागेको र हिमपात भैरहेको छ । जोमसोममा झण्डै १ फिटभन्दा बढी हिउँ जमेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुपसहितका स्थानमा भारी हिमपात भएको र झण्डै २ फिटभन्दा बढी हिउँ जमेको छ । कागबेनी, मुक्तिनाथसहित मुस्ताङका सबै ठाउँमा भारी हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ । हिमपातका कारण सवारी आवतजावत र हवाई उडान हुन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो अत्यधिक बढेको बताइएको छ । मुक्तिनाथ दर्शन र मुस्ताङ घुम्न पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आवतजावतमा रोक लगाइएको छ । अहिले मुस्ताङमा भारतीय पर्यटकहरु पुगेका छन् । उनीहरुलाई होटलमै बस्न आग्रह गरिएको रेग्मीले बताउनुभयो । चिसो मौसम रहेको हुँदा जुनसुकै समयमा पनि वर्षा र हिमपात हुने भएकाले उनीहरुलाई टाढाको यात्रामा ननिस्कन आग्रह गरिएको छ ।