पश्चिमी वायुले बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

प्रकाशित मिति:

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको औँल्याएको हो ।रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव मध्य हुँदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।उहाँका अनुसार उक्त वायुको सक्रियताले अहिले पनि देशका पश्चिम तथा मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ । वर्षासँगै वायु प्रणाली कमजोर हुने हुँदा साँझतिरदेखि मौसममा सामान्यतया सुधार आउनेछ ।भोलि आइतबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।