चिसापानीको विवादित जग्गा विक्री प्रकृया रद्ध

प्रकाशित मिति:

नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीको विवादित जग्गा विक्री प्रक्रिया रद्द हुने भएको छ ।स्थानीयको व्यापक विरोध र विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यममा आएका विभिन्न खाले समाचार पछि टेण्डर रद्द हुने भएको हो ।राष्ट्रिय आवास कम्पनीको नाममा रहेको साविक माकर २ ग १३१० को ८ विगाहा २ कठ्ठा १२ धुर जग्गा मध्येको ३ विगाहा क्षेत्रफल जग्गा टेण्डर मार्फत विक्रि थालेको भएपनि स्थानीयले मिलेमतोमा विक्री प्रक्रिया अगाडि बढाएको र टेण्डर प्रक्रिया गलत भएको भन्दै विरोध भएपछि रद्दको लागि प्रक्रिया अगाडि बढेको हो ।स्थानीयले जग्गा स्थानीय स्तरमै रहेको अस्पताल र क्याम्पसले पाउनु पर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।पहिल्लो समय स्थानीय मात्र नभई जिल्ला भित्रका विभिन्न राजनैतिक दल तथा संगठनले समेत चासो देखाउदै विज्ञप्ती मार्फत जग्गा विक्रि प्रकृया को खारेजीको माग गरेका थिए ।
राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापाले अहिले छानविन प्रकृया चलिरहेकोले तत्काल रद्द गरिने बताए । उनले कार्यालयमा लागेको ताला खुल्ना साथ रद्दको प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले टेण्डर प्रक्रिया अगाडि बढेको भएपनि छानविन भएर स्वीकृत हुन भने बांकी रहेको समेत बताए । स्वीकृत नभएकै अवस्थामा विवाद भएपछि कार्यालय टेण्डर पक्रिया रद्द गर्ने प्रक्रियामा जान बाध्य भएको हो ।

राष्ट्रिय आवास कम्पनीले पटक पटक टेण्डरको लागि सूचना जारी गरेपनि पछिल्लो पटक मात्र टेण्डर प्रक्रिया अगाडि बढ्न सकेको थियो ।