भैरहवामा तरुण दलको प्रदर्शन, डा। केसीका माग पुरा गर्नुको सट्टा उनलाई मेडिकल माफियाको रुपमा परिभाषित गर्नु दुःखद भएको नेता पोख्रेलको भनाई

प्रकाशित मिति:

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीको माग पुरा गर्नपर्छ भन्ने माग राख्दै नेपाल तरुल दल जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ । डा.केसीको माग पुरा गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, विवादस्पद अभिव्यक्ति दिएका कानुन मन्त्री शेर बहादुर तामाङले राजीनामा दिनुपर्ने लगायतका माग राख्दै सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अगाडी तरु दल, रुपन्देहीले एक घण्टा धर्ना दिएको हो ।

सरकारले डा.गोविन्द केसीको माग पुरा गर्न सरकार गम्भीर नभएको र दिनप्रतिदिन मंहगी बढ्दै गएकोप्रति पनि सरकार उदासिन रहेको कारण विरोध प्रदर्शन गरिएको नेपाल तरुण दल जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ(सेते)ले बताए ।

धर्ना कार्यक्रम पश्चात बोल्दै युवा नेता विष्णु पोखरेलले सरकारले डा.गोविन्द केसीका माग पुरा गर्नुको सट्टा उल्टै उनलाई मेडिकल माफियाको रुपमा परिभाषित गर्नु दुःखद भएको बताए । उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका तरुण दलका केन्द्रीय अध्यक्ष जितसंह बस्नेत लगायतका नेता कार्यकर्तालाई निर्ममतापूर्वक घाइते बनाएर सरकारले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए ।

धर्ना कार्यक्रममा डा.गोविन्द केसी जिन्दाबाद, सत्याग्रही डा.केसीका माग पुरा गर, बढ्दो मंहगी नियन्त्रण गर जस्ता नाराबाजी पनि गरिएको थियो ।