हिमपातले रुकुममा लाखाैँकाे अलैँची नष्ट

प्रकाशित मिति:

रुकुम– शुक्रबार र शनिबार भएको हिमपातका कारण अधिकांश स्थानमा चिसोको प्रभाव बढेको छ भने उच्च हिमाली भागको जनजीवन कष्टकर बनेको छ ।हिमपात पछि कतै किसानहरु खुशी भएको पाइन्छ भने कतै हिमपातकै कारण किसानको खेतिबालीमा लाखौँको क्षति भएको छ ।रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा लगाइएको अलैँची हिउँका कारण न ष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् । गाउँपालिकाको वडा नं। १, ३, ४ र ५ मा लगाइएको अलैँची खेतीमा हिमपातका कारण करिब ५५ लाख ६० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

अलैँची पकेट क्षेत्रका रुपमा रहेका यी वडामा हिमपातका कारण कामै नलाग्ने गरी सोत्तर भएको अलैँची उत्पादक कृषकहरुको गुनासो छ । यहाँका कृषकहरुले पछिल्ला केही वर्षदेखि अलैँचीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।हिमपातका कारण अलैँचीको डाँठसमेत भाँचिएको र अधिकांश ठाउँको अलैँची बाली काम नलाग्ने अवस्थामा पुगेको त्रिवेणी १ का कृषक विकल्प ओलीले बताउनुभयो

गाउँपालिकाको नम्बर–४ का वडाध्यक्ष चन्द्रवहादुर खड्काका अनुसार त्यस वडामा मात्र २६ लाखको क्षति भएको छ । वडाका दम्दु, खुम्चेरी, ज्यालंगा, कालिमाटी,थारेघर, भाल्दुला, छोटेकाडा, जुगेपानीलगायतका ठाउँमा ८० घरपरिवारले लगाएको अलैँचीका करिब ६५ हजार बोट मध्येमा ५० हजार बोटमा क्षति पुगेको बताइएको छ ।वडा नम्बर १ को बग्रेखोला, चिसापानी, रिसम्जाखोला, किमगैरा, स्यानोखोलालगायतका ठाउँमा अलैँची लगाइएकोमा मा करिब १४ लाख बराबरको क्षति भएको छ ।त्यस्तै वडा नम्बर ५ मा ५० घरपरिवारले हाईरु खोला, माथगाउँ, लाइत खोलालगायतका ठाउँमा गरेको अलैँची खेतीमा १३ लाख बराबरको क्षति भएको छ । हिमपातले वडा नम्बर ३ का कुल्सिवाङ, सल्लेडारा र कुरल लगायतका ठाउँमा लगाइको अलैँची खेतीमा करिब साढे २ लाखको क्षति भएको छ ।