सरकारविरुद्ध कांग्रेसले देशैभर प्रदर्शन गर्ने

प्रकाशित मिति:

काठमाण्डौ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।कांग्रेसको आइतबार बसेको केन्द्रिय कार्य समितिको बैठकले आउँदो २१ गते सोमबार देशका सबै जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै कांग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेको हो ।पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो

काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।बैठकले आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रवक्ता शर्माले डा। केसीको जीवन रक्षाका लागि पहल गर्न पनि सरकारलाई सचेत गराइएको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयकमा केही व्यक्तिको असन्तुष्टि भन्दै डा। केसीप्रति इंगित गर्दै दिएको जवाफ गैर जिम्मेवार भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले आपत्ति पनि जनाउनु भयो ।कांग्रेसले व्यक्तिको स्वतन्त्रताको हकलाई समेत प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको आरोप लगाएको छ ।