अब इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको मेसेज एउटै एपमा

प्रकाशित मिति:

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर एकीकृत गर्ने योजनामा लागेको कुरा सार्वजनिक गरेको छ । पहिलो पटक न्यूयोर्क टाइम्सलाई यसबारे बताउँदै मार्क जकरबर्गले यो आफ्नो निजी परियोजना रहेको बताएका छन् ।अहिलेसम्म इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेज स्रोत इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर नै थियो । तर यो योजना पुर्ण भइसकेपछि कुनै एक फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ, त्यस्तै इन्स्टाग्राममा पनि हुनेछ ।

सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने जनाइएको छ ।एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सक्ने हुँदा फेसबुकको डाटा तीनवटै एपहरूमा जाने अवस्था बन्छ । यसरी फेसबुकले आफ्नो विज्ञापनको दायरा बढाउन सक्ने छ ।

तर अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ। यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको साम्राज्युलाई टुक्र्याउन झन् कठिन बनाउने छ।