पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूतिलाई शल्यक्रिया किन गरिन्छ ? जान्नुहोस् !

प्रकाशित मिति:

सियोल – दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।  स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८।८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।

सो संख्या सन् २०१६ मा भन्दा ३.४ प्रतिशतले बढी हो । सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५.४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।  कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै पहिलो पटक गर्भवती हुने प्रचलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गर्नु परेको सर्वेक्षणकर्ताहरुको भनाइ छ । कोरियामा पछिल्ला वर्षहरुमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ ।

सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुने महिलाहरुको संख्या करिब २९ प्रतिशत रहेको छ । सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो ।  सर्वेक्षणकर्ताहरुले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन् । हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गइरहेको पाइएको छ । रासस/योनहाप