बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता, स्ववियु निर्वाचनबारे छलफल

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ। कांग्रेसको असहमतिकाबीच चिकित्सा शिक्षा विधेयक पारित भएपछि पहिलो पटक ओली र देउवाबीच भेटघाट भएको हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावबारे छलफल गर्न देउवा र ओलीबीच भेट भएको बैठकमा सहभागी नेकपाकी सांसद नवीना लामाले जानकारी दिइन्।

बैठक अहिले पनि जारी छ। फागुन १५ गते हुन लागेको स्ववियु निर्वाचनका विषयमा बैठक केन्द्रित भएको लामाले जानकारी दिइन्। बैठकमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र कांग्रेसका तर्फबाट सभापति देउवासहित पार्टी माहमन्त्री प्रकाशरण महत सहभागी छन्। त्यस्तै विद्यार्थी संगठनका तर्फबाट बैठकमा तत्कालीन एमाले अनेरास्ववियूकी अध्यक्ष लामा, अनेरास्वयू (क्रान्तिकारी) का अध्यक्ष रन्जित तमाङ र नेविसंघका अध्यक्ष नैनसिंह महर सहभागी छन्।