गण्डकी प्रदेशको पञ्चवर्षीय योजना : प्रतिव्यक्ति आय २५ सय डलर, गरिबी ७ प्रतिशत

प्रकाशित मिति:

पोखरा – गण्डकी प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना ल्याउँदै छ । चैतभित्रै पञ्चवर्षीय आवधिक योजना ल्याउने लक्ष्यसहित प्रदेश सरकारले तयारी गरिरहेको हो ।  सरकारले गठन गरेको प्रदेश नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना तयार पार्न १० जिल्लामा सुझाव संकलन सकिसकेको छ । आयोगले विकास प्राथमिकताका विभिन्न क्षेत्र छुट्याएर १ सय ६८ प्रश्न तयार पारेको फारम बनाएको छ । जिल्ला–जिल्लामा पुगेर विभिन्न समूह विभाजन गरी स्थानीय तहका जनप्रतिनिधि र विषयगत विज्ञता हासिल गरेका व्यक्तिबाट सोही फारममार्फत सुझाव संकलन गरिरहेको छ ।

गण्डकी प्रदेशले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको इन्जिनको रुपमा लिएको छ । यी क्षेत्रमा केके गर्न सकिन्छ र त्यसका रणनीति, कार्यनीति र कार्यक्रम कसरी लैजाने भनेर जिल्लाजिल्लामा पुगेर सुझाव संकलन गर्ने काम गरेको आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले जानकारी दिए ।सरकारले यो आर्थिक वर्ष प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिएको छ । चैतभित्रै आवधिक योजना ल्याउने र कार्यान्वयनमा लैजाने सरकारको योजना छ । गण्डकी प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले वार्षिक आय वृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने र ५ वर्षभित्र गरिवी ७ प्रतिशतमा झार्ने लक्ष्यअनुसारको नीति लिएको छ ।

सरकारको नीतिअनुसार आयोगले कास्कीमा आवधिक योजना निर्माणका लागि सुझाव संकलन गरेको छ । स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तिलाई डाकेर कास्कीमा सुझाव संकलन गरिएको हो । पाँच समूहमा विभाजन भएर कास्कीका पाँच स्थानीय तह र विभिन्न क्षेत्रका व्यक्तिले आयोगले तयार पारेको १ सय ६८ बुँदे फारममा आधारित रहेर प्रस्तुति राखेका थिए ।

गरिबी निवारण, पुँजी निर्माण र लगानी, पर्यटन, उद्योग र औद्योगिक प्रयोजनको स्रोत, सहकारी, खाद्यान्न उत्पादन, ऊर्जा, सडक सञ्जाल लगायतका क्षेत्रमा सहभागीले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विषयमा सुझाव दिए । हरेक क्षेत्रमा प्रविधिलाई जोडेर दीर्घकालीन योजना बनाउनुपर्ने सहभागीहरुको सुझाव थियो । पालिकाको केन्द्रसम्म जोड्ने सडकलाई पाँच वर्षभित्रै पिच गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव उनीहरुको छ । प्रदेश सरकारले ल्याएको नीति, आयोगले तयार पारेको फारम र प्रकाशन गरेको प्रदेशको स्थितिपत्रलाई टेकेर सहभागीले सुझाव दिएका थिए ।

आयोगले मनाङ र मुस्ताङबाहेकका जिल्लामा सुझाव संकलन सकेको छ । हिउँ पर्ने र अत्याधिक चिसोका कारण तत्काल यी जिल्लामा जान नसकिएको आयोग उपाध्यक्ष डा. गिरिधारीको भनाइ थियो । ‘जिल्लाजिल्लामा स्थानीय तह र विषयगत सरोकारवालासँगै विज्ञहरुबीच पनि छलफल र सुझाव माग्नेछौं,’ उनले भने, ‘प्रत्येक जिल्लाबाट आएका सुझावलाई जम्मा गरेर छान्ने काम भइरहेको छ ।’ माघ २५ र २६ गते प्रदेश समन्वय समितिको बैठक डाकिएको र त्यो बैठकमा राष्ट्रिय योजना आयोग र प्रदेशको योजनाका विषय राखेर सुझाव संकलन गरिने उनले जानकारी दिए ।

थप समाचार